• २९ फागुन २०८२, शुक्रबार

सांसदको शपथ अस्थायी सभाकक्षमा

blog

गाेरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २९ गते । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सांसदहरूको शपथ र संसद् अधिवेशनको तयारी सुरु भएको छ । निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदहरूको शपथग्रहणका लागि प्रयोग गर्ने तयारी छ । बैठकका लागि पनि यही कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान छ । नवनिर्वाचित सांसदहरूको शपथ तथा बैठकका लागि अझै स्थायी संसद् भवन तयार हुन सकेको छैन । सङ्घीय संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले संसद् बैठक बस्ने स्थायी भवन तयार हुन नसक्दा निर्माणाधीन संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बहुउद्देश्यीय कक्षलाई अस्थायी रूपमा केही समयका लागि मात्र प्रयोगमा ल्याइने छ । उहाँले भन्नुभयो, “अस्थायी संसद्कक्षको निर्माण छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ । बहुउद्देशीय कक्षमा शपथग्रहण गराउने र प्रतिनिधि सभाका केही प्रारम्भिक बैठकसमेत बस्ने गरी काम भइरहेको छ । तयारीको नियमित अनुगमन भइरहेको छ ।”

प्रतिनिधि सभाका लागि निर्माण भइरहेको सभाकक्ष सहरी विकास मन्त्रालयले चैत १ भित्रै सङ्घीय संसद् सचिवालयलाई हस्तान्तरण गर्ने कुरा तय भएको थियो तर अहिलेसम्मका कामको प्रगति हेर्दा निर्धारित मितिभित्र सम्पन्न हुन सक्ने अवस्था नदेखिएको प्रवक्ता गिरीले जानकारी दिनुभयो । सहरी विकास मन्त्रालयसँग समन्वय गरेर बहुउद्देश्यीय कक्षलाई अस्थायी संसद् कक्षका रूपमा प्रयोग गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । बैठककक्षको अभावमा प्रतिनिधि सांसदहरूको शपथग्रहण, अधिवेशन वा संसद् बैठक रोकिनै नसकिने उहाँले स्पष्ट पार्नुभयो ।

विसं २०६४ सम्म संसद्को बैठक सिंहदरबारस्थित पुतली बगैँचामा रहेको भवनमा बस्दै आएको थियो । संविधान सभा सदस्यको सङ्ख्या बढेपछि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद्को बैठक बस्दै आएको थियो । नयाँ बानेश्वरको भवनको भाडाबापत संसद् सचिवालयले वार्षिक १० करोड ५८ लाख रुपियाँ बुझाउँदै आएको छ ।

करिब पाँच अर्ब रुपियाँको लागतमा सिंहदरबारपरिसरमा संसद्को नयाँ भवन निर्माण भइरहेको छ । भवनको ठेक्का नेपाली निर्माण कम्पनी टुन्डी र चिनियाँ निर्माण कम्पनी सेक (संयुक्त) ले पाएका छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गर्नुभएको यो आयोजना तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ असोज १६ गते निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । सम्झौता भएको छ वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन ।

सांसदलाई अभिमुखीकरण

नवनिर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने तयारी भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार अभिमुखीकरण कार्यक्रमका क्रममा सांसदहरूलाई संसद् बैठकमा गरिने प्रश्न, कानुन निर्माण प्रव्रिmयालगायतका विषयमा प्रशिक्षण दिइने छ ।