• २३ चैत २०८२, सोमबार

स्वास्थ्य स्वयंसेविकालाई आधारभूत तालिम

blog

सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई कैलाश गाउँपालिकामा आयोजना गरिएको आधारभूत तालिम । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, चैत २३ गते । मकवानपुरको विकट कैलाश गाउँपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई १० दिने आधारभूत तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमका बीच नयाँ स्वयंसेविकाहरुलाई लक्षित गर्दै तालिम सञ्चालन गरिएको हो ।

जनस्वास्थ्य कार्यालय मकवानपुरले गाउँपालिकासँगको समन्वयमा तालिम आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरुलाई आवश्यक क्षमता, ज्ञान र सीप प्रदान गर्दै अघि बढाइने बताउनुभयो । उहाँले तालिमबाट सिकेको सीप समुदायमा प्रभावकारी रूपमा प्रयोग गर्न र आफ्नो भूमिका, कर्तव्य तथा अधिकारअनुसार काम गर्न आग्रह गर्नुभयो। साथै, समुदायमा काम गर्दा आउने समस्यामा स्वास्थ्य शाखासँग सहकार्य र समन्वय गर्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका निमित्त प्रमुख लक्ष्मण घिमिरेले नयाँ स्वयंसेविकाहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाभन्दा बढी नयाँ स्वयंसेविका भएपछि आधारभूत तालिम सञ्चालन गर्ने गरिएको छ । कैलाशमा ११ जना नयाँ स्वयंसेविका रहेकाले उनीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न तालिम सुरु गरिएको हो । तालिम सम्पन्न भएपछि आवश्यक औषधि तथा सामग्रीसहितको बक्स उपलब्ध गराइने पनि उहाँले बताउनुभयो ।

कैलाश गाउँपालिका मकवानपुरकै विकट क्षेत्रमध्ये पर्ने उल्लेख गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा तीनै तहका सरकारले लगानी गरिरहेको र स्वयंसेविकाहरुका लागि आवश्यक सहयोग उपलब्ध गराइँदै आएको बताउनुभयो । तालिममा सिनियर अनमी तारा थापा र आशा गुरुङले सहजीकरण गरिरहनुभएको स्वास्थ्य शाखा प्रमुख तिलक प्रसाद गौतमले जानकारी दिनुभयो । सहभागीहरुलाई तालिम अवधिभर खाना तथा आवासको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । 

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका लेखा प्रमुख अनिता न्यौपाने, स्वयंसेविका फोकल पर्सन आयुश्मा दाहाल, उर्मिला आचार्य लगायतको उपस्थिति रहेको थियो ।