• २३ चैत २०८२, सोमबार

जेसीज कपमा आर्मीको विजयी सुरुवात

blog

कालीजंग गण र हाइकर्स युनाइटेडका खेलाडी बल खोस्ने प्रयास गर्दै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत २३ गते । गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजंग गण घोडाबाँधेले विजयी सुरुवात गरेको छ ।

सोमबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कालीजंग गणले हाइकर्स युनाइटेडलाई ४–१ गोलले हरायो । कालीजंग गणको जितमा चारै गोल दिपेन दियालीले गर्नुभयो । खेलको चार मिनेटमै दियालीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।

कमजोर खेल प्रदर्शन गरेको हाइकर्समाथि कालीजंग हाबी बनेको थियो । दियालीले प्रतियोगितामा पहिलो ह्याट्रिक समेत गर्नुभयो । हाइकर्सका लागि खेलको अन्त्यतिर रोहन जिसीले सान्त्वना गोल गर्नुभयो ।    

कालीजंग गणले बुधबार हुने खेलमा बलियो टोली गण्डकी प्रदेश प्रहरीको सामना गर्नेछ । गण्डकी प्रदेश प्रहरीलाई प्रतियोगिताको उपाधि दाबेदारका रुपमा हेरिएको छ । 

प्रतियोगिताको दोस्रो दिन मङुगलबार बागलुङ सुधार केन्द्रविरुद्ध प्रबुद्ध युवा क्लब र सेभन–एट फुटसलविरुद्ध आदर्श विद्यामन्दिर (एभिएम) र बागलुङ स्पोर्टस् क्लबविरुद्ध बागलुङ कालिका युवा क्लबबिच हुनेछ । 

प्रतियोगिताको विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै सेमिफाइनमा पुग्ने टोलीलाई १२/१२ हजार रुपियाँ तथा विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई १०/१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई ५/५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।