• २६ मङ्सिर २०८२, शुक्रबार

एमाले महाधिवेशनको तयारी पूरा

सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी

blog

नेकपा (एमाले) को ११ औं महाधिवेशन तयारीबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै नेताहरु । तस्बिरः केशब गुरुङ

काठमाडौं, मंसिर २६ गते । नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले गर्नु हुने छ ।  

महाधिवेशनको तयारीबारेमा जानकारी दिन आज सल्लाघारीमै आयोजित पत्रकार सम्मेलनमा टाउको गिनेर ३ लाख जना र बढीमा ५ लाख जनालाई उदघाटन सत्रमा उतार्ने तयारी भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । त्यसका लागि १० हजार तालिम प्राप्त स्वयम्सेवक परिचालन गर्ने तयारी भएको उहाँको भनाइ छ । 

कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी, पार्टीको नेशनल युथ भोलेन्टियर्स, भूतपूर्व सैनिकसहित सुरक्षाकर्मी, स्वयम्सेवक सुरक्षार्थ खटिने प्रमुख गौतमले बताउनुभयो । अध्यक्ष ओलीलाई गुण्डुदेखि सल्लाघारीसम्म तीन सुरक्षाकर्मी समूहले स्कटिङ गरी मञ्चसम्म ल्याउने उहाँको भनाइ छ । 


सोहीअनुसार स्थायी कमिटी सदस्य तथा स्वयम्सेवक परिचालन कमिटीका संयोजक भानुभक्त ढकालले सुरक्षार्थ खटाइने १० हजार स्वयम्सेवकमध्ये १० स्वयम्सेवक बरावर एक जना कमाण्डरको व्यवस्था गरिएको बताउनुभयो । कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन सुरक्षार्थ खटिने सुरक्षाकर्मी र स्वयम्सेवकलाई कार्यक्रम र सुरक्षाको योजनाबारे जानकारी गराइएको बताउनुभयो । 

त्यस्तै, महाधिवेशन जनपरिचालन कमिटीका संयोजक डा. राजन भट्टराईले एमालेले ११ औं महाधिवेशनबाट नयाँ मानक स्थापित गर्ने बताउनुभयो । एमाले पार्टी आफैमा मानक भएको बताउँदै उहाँले महाधिवेशनको उदघाटनसत्रका लागि अहिलेसम्म कसैले नबनाएको ठुलो र प्रविधियुक्त मञ्च तयारी गरिएको बताउनुभयो । 

महाधिवेशनको उदघाटनसत्रले प्रतिगमनविरुद्धको अभियानको सन्देश प्रवाह गर्ने उहाँको भनाइ छ । संविधान मिचेर मुलुकलाई प्रतिगमनतर्फ उन्मुख गराउनेहरु विरुद्ध एमालेले महाधिवेशनमार्फत अग्रगमनको अभियान सुरु गर्ने उहाँले प्रष्ट पार्नुभयो । “एमालेले महाधिवेशनमार्फत निर्णायक जवाफ दिन्छ” उहाँले थप्नुभयो, “संविधानलाई संकुचन गर्नेकाम भएको छ, संविधानको रक्षा गर्नेगरी एमालेले अभियान चलाउँछ ।”


मञ्च व्यवस्थापन कमिटीका संयोजक तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सभास्थलभन्दा ३ किलोमिटर टाढासम्म सुनिने गरी आधुनिक साउण्ड सिस्टमको व्यवस्था गरिएको बताउनुभयो । प्रविधियुक्त मञ्च व्यवस्थापनमा विज्ञ प्राविधिक टोलीको सहभागिता रहेको बताउँदै उहाँले अहिलेसम्म यत्ति ठुलो र आधुनिक मञ्च निर्माण कसैले नबनाएको उहाँले दावी गर्नुभयो । 

मञ्चको पृष्ठभूमिमा चाँगुनारायण मन्दिर, पशुपतिनाथसहितका मन्दिर, यहाँका पर्यटकीय स्थलको तस्बिर र सांस्कृतिक प्रदर्शनलाई प्राथमिकतामा राखिएको बताउँदै उहाँले नेपालको सांस्कृतिक पक्षको प्रवर्धनमा पनि एमालेले जोड दिएको उहाँको भनाइ छ । मञ्चको दायाँ–बायाँ डिस्प्ले बोर्ड राखिएको र छेउमा अध्यक्ष ओलीको ठुलो आकारको तस्बिर राखिएको छ । एकातिर धरहरा र त्यसमा पार्टीको लोगो अंकित व्यानर राखिएको र अर्कोतर्फ राष्ट्रिय झण्डासहित अध्यक्षको तस्बिर राखिएको उहाँले बताउनुभयो । 


उदघाटनसत्रमा प्रमुखसहित १६ राजनीतिक दलका अध्यक्ष र सभापतिहरुलाई निमन्त्रणा गरिएको स्थायी कमिटी सदस्य डा. भट्टराईले बताउनुभयो । सोहीअनुसार छिमेकी देशका कुटनीतिक नियोगका केही प्रतिनिधि, उहाँहरुको शुभकामना सन्देश बाचन गरेर उदघाटन सत्रमा सुनाइने उहाँले जानकारी दिनुभयो । 

महाधिवेशनको मञ्च व्यवस्थापन तथा साउण्ड सिष्टममा करोडौं खर्च गरिएकाले टाढाबाट नेताहरुको धारणा सुन्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । सभास्थलमा मास बढी भएमा बाहिर सडक, पसल र खुला क्षेत्रमा समेत उपस्थिति रहनेगरी व्यवस्थापन मिलाइएको उहाँले बताउनुभयो । 


प्रचार विभाग प्रमुख गौतमका अनुसार पूर्वमा जगातीमा गाडी पार्किङमा राख्ने व्यवस्था मिलाइएको र पश्चिममा ठिमीमा गाडी पार्किङको व्यवस्थापन मिलाइएको छ । मञ्चमा तीन भाषा रञ्चना लिपीको नेवाः भाषा, नेपाली भाषा र अंग्रेजी भाषामा सन्देशहरु जारी गरिएको उहाँको भनाइ छ । उदघाटनसत्रमा दुईसय बढी पहिचानजन्य जातीय समुदायको सांस्कृतिक प्रदर्शनी हुने उहाँले बताउनुभयो । 


एमालेले महाधिवेशनको उदघाटनसत्र भक्तपुरको सल्लाघारीमा गर्ने भनेको छ । त्यसपछि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा गर्ने जनाएको छ । महाधिवेशनको बन्दसत्रमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुँदैछन् । बन्दसत्रमार्फत नयाँ कार्य समिति चयन गर्नेछ । अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने दावी गर्नुभएको छ । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।