काठमाडौं, भदौ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र साङ्घाइ सहयोग संगठन (एससिओ) कार्यक्रममा खेल्नु भएको भूमिका नेपाल र नेपालीका लागि कोशेढुंगा (माइलस्टोन) भएको परराष्ट्रविदहरुको विश्लेषण छ ।
फ्रेण्डस् अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्ल्युन्सर्स, नेपाल संस्थाद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा परराष्ट्रविदहरुले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा उठाउनु भएको विषय नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियताको एजेण्डा भएकाले यसमा सबै नेपालीको समर्थन र सहयोगको खाँचो रहेको उहाँहरुको आग्रह छ । प्रधानमन्त्री ओलीले उठाउनुभएको विषय देश र जनताका लागि उठेकाले त्यसको विरोध गर्नेहरु नेपाल र नेपालीको विरोधी ठहर हुने विश्लेषकहरुको निस्कर्ष छ ।
परराष्ट्रविद तथा द्वन्द्व व्यवस्थापक डा. विष्णुराज उप्रेतीले चीनको एससिओमा नेपालको प्रतिनिधित्व आफैमा माइलस्टोन भएको बताउनुहुँदै भन्नुभयो, “नेपालले आफ्नो एजेण्डा मात्र त्यहाँ राखेका छैन, अरु देशका प्रमुखहरुसँग सम्बन्ध विस्तार पनि गरेको छ । नेपालले आफ्नो विषयलाई निडरसाथ त्यहाँ राखेर विषयलाई अन्तर्राष्टियकरण गरेको छ, यो राम्रो भएको छ ।”
दुई छिमेकी देश भारत र चीनले नेपालको भूमि लिपुलेक भएर क्रसबोर्डर व्यापार गर्ने सम्झौता गर्नु आफैमा गलत भएको भन्दै उहाँले थप्नुभयो, “भारतले त नेपाललाई हेप्दै र भूमि चेप्दैआएको थियो नै, उत्तरको छिमेकी देश चीनले समेत त्यसमा सहमति जनाउनु झन आश्चर्यको विषय हो । लिपुलेक, लिम्पियाधुरा नेपालको भूमि हो भन्ने हामीसँग अकाट्य प्रमाण छ । त्यही हाम्रो शक्ति हो । यसलाई कुटनीतिक संवादबाटै समाधान गर्नुपर्छ ।”
सन् १८१६ मा सुगौलीसन्धी भएपछि सन् १८६० देखि भारतले विस्तारै नेपाली भूमि मिच्न थालेको बताउँदै उहाँले काली नदीको पूर्वी भूभाग सबै नेपाली भूमि रहेको सन्धीमा समेत स्पष्ट लेखिएको बताउनुभयो । भारतले लिम्पियाधुरा, लिपुलेक नेपाली भूमिलाई आफ्नोमा पार्न काली नदीको धार नै परिवर्तन गरी नक्कली काली नदी बनाएर नेपाली भूमि आफ्नोतर्फ पार्ने प्रयास गरेको उहाँको भनाइ छ । भारत र चीनलाई यस बारेमा नेपालले पटक पटक औपचारिक नोट पठाए पनि दुई छिमेकी देशले त्यसमा गम्भीरता नदेखाएको उहाँको बुझाइ छ ।
नेपाल र नेपालीले सदैव एक चीन नीतिको पक्षमा उभिएकाले चीनले पनि नेपाललाई सोहीअनुसरुप सहयोग गर्नुपर्ने खाँचो रहेको डा. उप्रेतीले बताउनुभयो । कुटनीतिक संवादबाट यो समस्या समाधान गर्नुपर्ने उहाँको सुझाव छ । डा. उप्रेतीले भन्नुभयो, “नेपाल र नेपालीको मुद्दामा हामी एक ठाउँमा उभिन सक्नुपर्छ । त्यही हाम्रो शक्ति हो । हामी विभाजित हुँदा हाम्रो मुद्दा कमजोर हुन्छ । यस विषयमा विरोध गर्नेहरु देशको शत्रु सावित हुन्छन् ।”
नेकपा (एमाले) विदेश विभागका सदस्य तथा वरिष्ठ पत्रकार गोपाल खनालले प्रधानमन्त्री ओलीको भूमिका एससिओमा एक माइलस्टोन रहेको दावी गर्नुभयो । नेपाल एससिओको पूर्ण सदस्यता नलिएको अवस्थामा गरेको प्रतिनिधित्व यति महत्वपूर्ण छ भने पूर्ण सदस्यता लिएर प्रतिनिधित्व गर्दा झन प्रभावकारी हुने उहाँको बुझाइ छ । प्रधानमन्त्री ओलीले राष्ट्रको हितमा ध्यान दिएर धारणा राख्नुभएको उहाँले चर्चा गर्नुभयो ।
प्रधानमन्त्रीले नेपाल र नेपालीको पक्षमा कुरा राख्दासमेत खुसी नहुनेहरु देशप्रति माया नगर्ने वर्ग भएको उहाँले टिप्पणी गर्नुभयो । नेपालको भूमि भएर क्रसबोर्डर व्यापार गर्ने भारतसँग सम्झौता गर्दा चीन गम्भीर हुनुपर्ने थियो, तर चीन यसमा चुकेको छ, खनालले थप्नुभयो, “एससिओमा नेपालले खेलेको भूमिका र रुसका राष्ट्रपतिसँग संवादमार्फत गरिएको सम्बन्धको पुनरताजगी एकदम सकारात्मक छ । हाम्रो प्रमाण राखेर कुटनीतिक संवाद मार्फत भूमिको समस्या समाधान गरिनपर्छ ।”
जापानका लागि पूर्व नेपाली राजदूत डा. विष्णुहरि नेपालले चीनसँग नेपाली सम्बन्धको कैयौं माइलस्टोन रहे पनि पछिल्लो एससिओमा नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले खेल्नुभएको भूमिका आफैमा अर्को माइलस्टोन सावित भएको बताउनुभयो । यसअघि बिपि कोइराला, टंकप्रसाद आचार्य, तत्कालीन राजा महेन्द्रले गरेको चीन भ्रमण पनि माइलस्टोन रहेको उदाहरण दिँदै उहाँले भन्नभयो, “भारतले नक्कली नक्सा बनाएर नेपाली भूमि लिपुलेकलाई अहिले आफ्नो भूमि उत्तराखण्डतर्फको नक्सामा पारेको छ, यो नक्कली हो भन्ने विश्वलाई जानकारी छ ।”
मैत्रीपूर्ण कुटनीतिको माध्यमबाटै नेपाली भूमि फिर्ता ल्याउनुको विकल्प नरहेको बताउँदै उहाँले नेपाल यस मुद्दामा एक भएर लाग्नुपर्ने उहाँको सुझाव छ । चीनलाई यस विषयमा थप प्रष्ट पारेर नेपाललाई सहयोग गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिंदै उहाँले चिनियाँ पर्यटक नेपाल भित्र्याउनेमा थप पहलको खाँचो रहेको बताउनुभयो ।
अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत महेश दाहालले चीनसँग नेपालको कुटनीतिक सम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको र चीनसँग यसअघिको ऐतिहासिक सम्बन्ध पनि रहेको बताउनुभयो । नेपालले एससिओमा उठाएको विषय गम्भीर रहेको र त्यसको समस्या समाधानमा चीनको सहयोगको खाँचो उहाँले औल्याउनुभयो । भारतले नेपाली भूमिलाई जवर्जस्ती ओगटेको बताउँदै उहाँले भन्नुभयो, “चीन र भारतविच सम्बन्ध सुधार हुनु राम्रो हो तर नेपाली भूमि मिचेर व्यापार विस्तार गर्नु गलत हो ।”
चीनले नेपाललाई शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारमा राम्रो सहयोग गर्दै आएको चर्चा गर्दै उहाँले नेपाली भूभाग फिर्ता ल्याउने विषयमा पनि चीनले नेपाललाई सहयोग गर्नुपर्ने उहाँको आग्रह छ । भारतको हेपाहा प्रवृत्तिका कारण नेपाली भूभाग गुम्ने खतरा भए पनि कुटनीतिक संवादमार्फत समस्या समाधानको पहल नेपालले एकतावद्ध रुपले गर्न सक्नुपर्छ उहाँले भन्नुभयो ।
संस्थाका अध्यक्ष सोवित उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको हो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ १४ देखि १८ गतेसम्म चीन भ्रमणमा रहनुभएको छ । उहाँ बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।