जेनजी ‘आन्दोलन’ हो कि ‘क्रान्ति’ विश्लेषण आआफ्नै हुन सक्ला । २०८२ भदौ २३ र २४ गते भएको २४ घन्टे आन्दोलनले नेपाली राजनीतिमा उलटफेर ग-यो । यसर्थ यो क्रान्ति हो भन्ने दाबी जेनजीको छ । मूलतः क्रान्तिले सामाजिक, राजनीतिक व्यवस्थामा गरेको परिवर्तनलाई जनाउँछ । क्रान्तिलाई अङ्ग्रेजीमा ‘रेभोल्युसन’ भनिन्छ । यो ल्याटिन शब्द रेभोल्युसियोबाट आएको हो । यसको अर्थ अवस्था पलट हुन्छ । सरकार ढाल्नु मात्र क्रान्ति होइन । प्रसिद्ध चिन्तक अरस्तुका अनुसार दुई किसिमका राजनीतिक क्रान्तिमा प्रथम–एक संविधानबाट अर्को संविधानमा पूर्ण परिवर्तन गर्नु, अर्को–मौजुदा संविधानमा संशोधन गर्नु भन्ने हुन्छ । जेनजी क्रान्तिले उठाएको दोस्रो प्रकारको राजनीतिक क्रान्ति हो । जसले मौजुदा नेपालको संविधानमा संशोधन खोजेको छ । प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम चुनावी सरकार गठन भयो । यसको मुख्य म्यान्डेट आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउनु रहेको छ ।
जेनजी आन्दोलन मूलतः मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न, अराजकता र बेथिति हटाउन, विदेशी सामाजिक सञ्जाल संस्थालाई नेपालमा सूचीकरणको आह्वान गरी भदौ १९ देखि निस्क्रिय गरिएका सामाजिक सञ्जाल सक्रिय गराउनमा केन्द्रित देखियो । सामाजिक सञ्जाल पाँचौँ दिन अर्थात् भदौ २३ गते रातिदेखि सञ्चालन भयो । जेनजी आन्दोलनको रापतापबिच सामाजिक सञ्जाल चल्न त चल्यो, तर जेनजीको बाँकी माग मुलुकको बेथिति र अराजकता हटाउन समय लाग्ने छ । त्यसैगरी भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नु झन् पेचिलो विषय हो ।
जेनजीको चाहना
जेनजी भनेको स्न १९९७ देखि २०१२ बिचमा जन्मेका अर्थात् १३ देखि २८ वर्ष उमेर समूहका युवा पुस्तालाई जनाउँछ । मुलुकमा सुशासन कायम गर्न समय लाग्ने हो भने यो पुस्ता भोलि जेन-वाईमा परिणत हुन्छ । एउटा जेन-जी रूपान्तरण भएर जेन-वाईमा गएपछि अर्को जेनजी पुस्ता स्वतः आउँछ नै । मुलुकमा जति पुराना र नयाँ राजनीतिक शक्ति आए, सबैको एजेन्डा भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्ने थियो । व्यवहारमा लागु नभएको मात्र हो । जेनजी पुस्ताले हेक्का राख्नु पर्छ कि भ्रष्टाचारमा राजनीतिक दलका नेता मात्र लहसिएका होइनन् । कर्मचारी, सेवाग्राहीको संलग्नता अझ डरलाग्दो छ । कर्मचारी र सेवाग्राहीले नै दलका नेतालाई भ्रष्ट बनाउँछन् । सेवाग्राहीले घुस दिएर काम फत्ते गराउँछन् । सुशासन कायम गर्न दलका नेतालाई मात्र कारबाही गरेर पुग्दैन । जरैबाट भ्रष्टाचार निमिट्यान्न पार्न प्रणालीको विकास हुनुपर्छ । सेवाग्राहीले घुस नखुवाएसम्म कामै नबन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । कर्मचारीलाई सेवाग्राहीको काम गरेबापत सरकारले तलब दिन्छ । निश्चित भत्ता दिन्छ । थप घुस लिन किन आवश्यक ? प्रणालीको विकास गरी दोषीलाई कारबाही हुने वातावरण बनाउन नसक्दासम्म यो समस्या रहिरहन्छ ।
जेनजी भनेको एउटा उमेर समूह हो । कुनै समुदाय वा राजनीतिक शक्ति होइन । जेनजी पुस्ताले उठाएको विषय अहम् हुन् । देशको समृद्धि र गौरवसँग जोडिएका विषय हुन् । यसर्थ यसको सफलताको विकल्प छैन । सफलताबिना जेनजी विश्राम लिन हुँदैन ।
परिवर्तनको माग प्राकृतिक
जेनजीको आन्दोलन सफल भएर अन्तरिम सरकार गठन हुँदा यहाँका मूलवासी आदिवासी समुदायले चासो राख्नु अस्वाभाविक होइन । जेनजीको आन्दोलनमा आदिवासी युवाको ठुलो हिस्सा संलग्न छ । देशभर सुरक्षाकर्मीसँगको झडपमा जेनजीका ७४ जनाले ज्यान गुमाइसकेका छन् । सयौँ घाइते छन् ।
परिवर्तन समयको माग हो । यो प्राकृतिक हुन्छ । परिवर्तनलाई रोक्न पनि सकिँदैन । मान्छे जन्मेपछि मर्नै पर्छ, यो प्राकृतिक हो । जेनजीको परिवर्तनको माग पनि प्राकृतिक छ । समस्या के मात्र हो भने जेनजीको आन्दोलनको आवरणमा स्वार्थी समूहले रोटी सेक्न भ्याए, अझै प्रयास गर्ने छन् यसमा जेनजी चनाखो हुनै पर्छ ।
नेपाल विविध जाति, समुदाय, भूगोल, भाषा, संस्कार संस्कृतिले भरिएको मुलुक हो । विविधताको चित्र राज्यको हरेक संरचनामा झल्किनु पर्छ । मुलुकको दिगो समृद्धिका लागि सबै वर्ग, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित हुनै पर्छ । अरू देशको जस्तो परिवेश हाम्रो होइन । नेपालको विकास नेपाली परिवेशअनुसार हुनु पर्छ । सबैलाई अपनत्वबोध हुने समृद्धि मात्र दिगो हुन्छ ।
आमनागरिकले खोजेको पनि त्यही हो । राज्यबाट पछाडि पारिएका वर्ग समुदायले राज्यबाट समानुपातिक प्रतिनिधित्वसहितको अधिकार पाउनु स्वाभाविक छ ।
जेनजी युवा उत्साहित
२४ घन्टे जेनजी क्रान्तिले देशमा सरकार परिवर्तन ग-यो । अन्तरिम सरकारले जेनजीको मागअनुसार काम गर्न थालेको मान्ने हो भने सुशासन कायम गर्ने अभियान सुरु भएको मान्न सकिन्छ । यद्यपि यो क्रान्तिले सरकार मात्र परिवर्तन गरेको छैन, मानिसको मनोवैज्ञानिक सोचमा परिवर्तन ल्याएको छ । संस्थागत लडाइँ र उपलब्धिका लागि शक्ति समूह चाहिन्छ । सम्भवतः जेनजीले राजनीतिक दल निर्माण गर्नु नै होला । जेनजीको आन्दोलनले धेरै युवा उत्साहित छन् । मुलुकमा अब परिवर्तन हुने भयो भनेर सपना देख्न थालेका छन् ।
आन्दोलनको सुरुवात जेनजीले ग-यो । शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन हिंसात्मक बन्न पुग्यो । आन्दोलनमा घुसपैठ भयो । त्यसले मुलुकका धरोहर मानिने सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, मन्त्री निवास, प्रदेश सरकारका कार्यालय, नगरपालिका तथा गाउँपालिका भवन र प्रहरी चौकीका भौतिक संरचना नष्ट भएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा पनि तोडफोड र लुटपाट भएको छ । राज्यका धरोहर र व्यक्ति सम्पत्ति नष्ट गर्नु क्रान्ति होइन । युवाले उठाएका मुख्य एजेन्डा सुशासन र भ्रष्टाचाररहित समाज निर्माण हो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा क्षतिको जाँच गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । आयोगले निष्पक्ष छानबिन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाएर दोषीलाई कारबाहीका दायरामा ल्याउन सफल भयो भने प्रणाली बस्न सुरु होला । विगतमा यस्ता आयोग धेरै गठन भए । प्रतिवेदन दिए तर कार्यान्वयन भएनन् । पारदर्शिता र जिम्मेवारीपन नै विश्वास जित्ने मुख्य अस्त्र हो ।