प्रेमरा सिम्खडा
कालीकोट, फागुन १९ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालय कालीकनेटले जिल्लाका सबै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्री सुरक्षित रूपमा पुर्याएको छ।
जिल्लाका दुर्गम तथा हिमाली क्षेत्रका मतदान केन्द्रसम्म मतपेटिका, मतपत्र, छाप, मतदाता नामावली, गोप्य कक्ष निर्माण सामग्री लगायतका अत्यावश्यक सामान ढुवानी गरिसकिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सहायक निर्वाचन अधिकृत तहसिलदार शुनिलकुमार खाँणाका अनुसार जिल्लामा रहेका १२७ स्थायी र १ अस्थायी मतदान केन्द्र गरी १२८ केन्द्रमा निर्वाचन सामग्री पुर्याइएको छ र सुरक्षा व्यवस्था समेत कडा गरिएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रहरी परिचालन गरी मतदान केन्द्रको सुरक्षा सुनिश्चित गरिएको छ। केही विकट बस्तीमा सामग्री ढुवानीका लागि पैदल र घोडारखच्चड प्रयोग गरिएको थियो।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूबीच समन्वय भइरहेको छ। निर्वाचन आयोगले मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरेको छ।