• १९ फागुन २०८२, मङ्गलबार

जमुनाहा नाका ७२ घण्टाका लागि बन्द

blog

निर्वाचनकालागि ७२ घण्टासम्म बन्द गरिएको नेपाल–भारत जमुनाहा नाका। तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन १९ गते।
फागुन २१ (बिहीबार) हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बाँकेको ६५ किलोमिटर लामो सीमा ७२ घण्टाका लागि पूर्णरूपमा बन्द गरिएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउने उद्देश्यले नेपाल–भारत जमुनाहा नाका लगायत जिल्लाका सबै सहायक नाकाहरू सोमबार राति १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङका अनुसार सीमा बन्दको निर्णय हालै भएका नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूको बैठकमा सहमति पश्चात गरिएको हो। उनले भने, “निर्वाचन सुरक्षाका लागि नेपालले मात्रै नभएर भारतीय प्रशासनले पनि आफ्नो भूभागबाट सीमा पूर्णरूपमा बन्द गरेको छ।”

तोकिएको अवधिभर एम्बुलेन्स वा अन्य अत्यावश्यक सवारी बाहेक कुनै पनि व्यक्ति सीमा नाकाबाट आवागमन गर्न पाउने छैन।

जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहा नाकालगायतका सहायक नाकामा सुरक्षाकर्मीको संख्या बढाइ १८ फागुनदेखि २१ फागुन रातिसम्म निरन्तर गस्ती सुरु गरेको छ। प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सीमा जोडिएको अधिकांश मतदानस्थल अति संवेदनशील भएकाले सुरक्षा प्रबन्ध प्रभावकारी बनाइएको छ। दुबै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती पनि सुरु गरेको जनाइएको छ।