• १९ फागुन २०८२, मङ्गलबार

रुपन्देहीमा आठ लाख ४० हजार बराबरको अवैध सामान बरामद

blog

बरामद भएका सामानहरू। तस्बिर: जिप्रका, रूपन्देही

कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन १९ गते।
रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ लाख रुपियाँभन्दा बढी मूल्यका सामान प्रहरीले बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी आठ लाख ४० हजार रुपियाँ बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडेरियास्थित एक कृषि फार्ममा भारतबाट भन्सार छली ल्याइ लुकाइछिपाइ राखिएको ७७२ थान लेडिज कुर्ता–सुरुवाल सेट बरामद गरिएको छ। कपडाको अनुमानित मूल्य सात लाख १२ हजार रुपियाँ रहेको छ। घटनामा संलग्न फार्म सञ्चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको छ।

यस्तै, रोहिणी गाउँपालिका–१ झोलुङ्गे पुल नजिक बेवारिसे अवस्थामा रहेका दुई मोटरसाइकलबाट २० कार्टुन रेडबुल र १० कार्टुन स्नाइकर चकलेट बरामद गरिएको छ। बरामद पेय पदार्थ र चकलेटको अनुमानित मूल्य ७८ हजार ६ सय रुपियाँ, मोटरसाइकलको अनुमानित मूल्य ५० हजार रुपियाँ गरी कुल एक लाख २८ हजार ६ सय रुपियाँ बराबरको सामान नियन्त्रणमा लिइएको प्रवक्ता चन्दले जानकारी दिनुभयो।

बरामद सबै सामान आवश्यक अनुसन्धान र कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।