• १९ फागुन २०८२, मङ्गलबार

नेपालीको एकताका लागि जापानमा एएनओ गठन

blog

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का नवनिर्वाचित कार्य समिति ।

गोरखापत्र अनलाइन

टोक्यो (जापान), फागुन १९ गते । विश्वभर शान्तिको कामना गर्दै बुद्धको जन्मस्थल नेपालीहरुले भगवान गौतमबुद्धका बहुसंख्यक अनुयायी रहेको जापानमा एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को जापान राष्ट्रिय कमिटी गठन गरेका छन्।

सामाजिक अभियन्ता एवं साहित्यकार रविन शर्माको अध्यक्षतामा गठित एएनओ जापान कमिटीले नेपालीमूलका, नेपाली जातिको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसँग सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्ने उद्देश्य राखेको जनाएको छ। 

एएनओका अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले जापान सम्मेलनको उद्घाटन गर्दै मातृपितृ भूमिबाट टाढा रहे पनि वा संसारको जुनसुकै कुनामा जन्मेको भए पनि आफ्‌नो मातृभूमि पितृभूमिसँग आफ्‌नो पहिचान जोडिएर आउने बताउनुभयो । मानिस आफ्‌नो पहिचानसहित नै जन्मिने र जीवन यापन गर्ने भएकाले आफ्‌नो मातृपितृ भूमिसँगको प्रेम गहिरो बनाउन एएनओको आवश्यकता रहेको दावी गर्नुभयो । 

बरिष्ठ कलाकार रामकृष्ण बम मल्लको सभापतित्वमा सम्पन्न सो सम्मेलनले पारित गरेको प्रस्तावमा भनिएको छ, “हामी नेपाली जातिका मानिसहरु हौं । नेपाली जाति भएकाले हाम्रो मातृ पितृभूमि स्वाभाविकरुपमा नेपाल नै हो । हाम्रा आफ्‌ना संस्कृति छन्, हाम्रा परम्पराहरु छन्, हाम्रो भाषा र कला र यी सबैसँग सदियौंदेखि जोडिएको हाम्रो पहिचान छ । दुनियाँभरमै पहिचान यस्तो एउटा विषय हो जसले आफू हुनुको वा आफ्‌नो अस्तित्वको वोध गराउँछ । कुनै न कुनै पहिचान नबोक्नु आफ्‌नो अतित्वमाथिको प्रश्न हो।”

अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा संसारभरका नेपाली जातिलाई जोड्नेगरी सुरु भएको यो अभियानको जापान सम्मेलनले इतिहासका विभिन्न मोडहरुमा पुर्खाहरु योगदानको सम्मान गर्ने जनाएको छ । 

कमिटीको उपाध्यक्षमा परदेशी गायकको नामले परिचित सूर्य खड्का महासचिवमा जापानी फिल्मसमेत अभिनय गरिसकेका कलाकार उदय लामा, सचिवमा व्यवसायी तथा सामाजिक अभियन्ता कामना भण्डारी, कोषाध्यक्षमा इन्जिनियरिङ क्षेत्रमा कार्यरत मधु क्षेत्री र प्रबक्तामा सामाजिक अभियन्ता केपी ओली चयन भएका छन् । 

त्यसैगरी कमिटीका सदस्यहरुमा महेन्द्र न्यौपाने, प्रथम गुरुङ, रितु थापा, समुद्रराज पौडेल, सुशान्त भट्टराई, सागर थापा, कोशिका लिम्बू, ज्याक खड्का, गोकर्ण अधिकारी, प्रेम बलम्पाकी र दीपक कंडेल चयन भएका छन् । 

सम्मेलनमा एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, साहित्यकार प्रकाश पौडेल, जनजाति महासंघका अध्यक्ष श्री गुरुङले शुभकामना मन्तब्य राख्दै नेपाली जातिलाई संस्कृतिको माध्यमबाट जोड्ने उद्देश्यमा सफलताको कामना गर्नुभयो ।