• १९ फागुन २०८२, मङ्गलबार

कास्कीमा ३७ कैदीबन्दीले मतदान गर्ने, निर्वाचन तयारी पूरा

blog

कास्की कारागार । फाइल तस्बिर

माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन १९ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन्। मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका यी कैदीबन्दीले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउनेछन्। कास्की जिल्ला कारागार प्रशासक राजेन्द्र शर्माका अनुसार ३७ मध्ये एक महिला पनि छन्। कास्की कारागारमा हाल ६९२ कैदीबन्दी रहेका छन्, जसमा २८ महिला, एक नाबालिका र बाँकी पुरुष छन्।

कास्कीमा निर्वाचनको तयारी पूर्ण भइसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ। सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार जिल्लाका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ। कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेको छ। यहाँ ४९ उम्मेदवार ९४४ पुरुष र ५ महिला० चुनावी मैदानमा छन्। जिल्लाभर १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र कायम गरिएको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले चारवटै सुरक्षा निकायको एकीकृत परिचालन गरी मतदान स्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरेर सुरक्षाकर्मी खटाइएको जानकारी दिइन्। मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउन प्रजिअकै नेतृत्वमा विशेष ‘टास्क फोर्स’ गठन गरिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले बताउनुभयो।