गोविन्द शर्मा
बाँके, पुस ८ गते । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै पुस ९ र ११ गते विद्यालय बन्द गरिएको जनाएको छ ।
पुस १० गते क्रिसमसको विदा रहेको छ । पालिकाले शिक्षा समितिको निर्णयअनुसार पुस ९ र ११ गते पठनपाठन स्थगित गरी प्रशासनिक कार्य भने नियमित सञ्चालन गर्न अनुरोध गरेको छ ।
खजुरा गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले अत्यधिक चिसो र शीत लहरका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
शिक्षा शाखा प्रमुख मल्लले भन्नुभयो, “आम अभिभावकको आग्रहका आधारमा विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।” अत्यधिक जाडो र शीतलहरका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ हुने गरेको छ ।
बाँकेमा मङ्सिर अन्तिम सातादेखि विहानै बाक्लो हुस्सु र शीतलहर चलेपछि जन जीवन प्रभावित हुँदै आएको छ । हवाइ उडान प्रभावित तथा अनियमित हुने गरेको छ । अत्यधिक चिसोबाट बच्न मानिसहरु आगो तापेर बसिरहेका छन् ।
नेपालगञ्ज उप–महानगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहमा समेत अत्यधिक चिसो बढेकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्न अभिभावकले माग गरेका छन् ।