गोरखापत्र अनलाइन
दाङ, पुस ८ गते । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे विश्वविद्यालय परिवारले गम्भीर चासो व्यक्त गरेको छ।
विश्वविद्यालय परिसरभित्र रहेको उपकुलपति आवासमा अनधिकृत रूपमा प्रवेश गरी उपकुलपति प्राडा धनेश्वर नेपाल, उपप्रशासक खिमबहादुर केसी र स्वकीय सचिव चोलेन्द्र रिजालमाथि मिति २०८२ पुस ६ गते बिहान सुनियोजित आक्रमण गरिएको घटनाप्रति कडा विरोध र निन्दा गरिएको हो।
उक्त घटनापछि मिति २०८२ पुस ७ गते विश्वविद्यालयका पदाधिकारी, निकाय प्रमुख, शिक्षक, कर्मचारी तथा विभिन्न पेशागत सङ्घ–संस्थाका प्रतिनिधिको बृहत् भेलाले घटनाप्रति गहिरो खेद व्यक्त गर्दै विश्वविद्यालयका पदाधिकारीको सुरक्षा सुनिश्चित गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको शिक्षाध्यक्षको कार्यालयले जनाएको छ।
सो विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा भोजराज जोशीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा नेपाल संस्कृत विश्वविद्यालय नेपाली संस्कृतिको संवाहक र राष्ट्रको गौरवपूर्ण शैक्षिक धरोहर भएको उल्लेख गर्दै संस्थालाई विकृति र विसङ्गतिबाट मुक्त गरी उच्च प्राज्ञिक यात्रामा अघि बढाउन विश्वविद्यालय परिवार एकजुट रहेको स्पष्ट गरिएको छ।
साथै अनेरास्ववियू (क्रान्तिकारी) ले लगाएका आरोपहरू कपोलकल्पित, प्रमाणहीन र अयथार्थ रहेको दाबी गर्दै सत्य र सही सूचनाका आधारमा धारणा निर्माण गर्न आग्रह गरिएको छ।