• १४ मंसिर २०८१, शुक्रबार

बजारमा आउन थाल्यो मुस्ताङको स्याउ

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज १२ गते । ‘क्या राम्रो स्याउ बारी मार्फा गाउँमा’ भन्ने गीत हामीले धेरै पहिलादेखि सुन्दै आएका छौँ । त्यही गीतका शब्दमा भनिए जस्तै ‘हेर्दा राम्रो मार्फा गाउँ, खाँदा मिठो मार्फा स्याउ’ अहिले बजारमा आएको छ । 

स्याउको बजारमा माग पनि निकै हुने र त्यही माग अनुसारकै स्याउ बजारमा पनि पाउँदा उपभोक्ता पनि मक्ख छन् । भदौ मसान्तसम्म टिप्नै नपाइने गरी प्रतिबन्ध नै लगाइएको स्याउमा गुलियोपन भरिँदै गएपछि बजारमा पुग्न थालेका छन् । 

मुस्ताङको विभिन्न क्षेत्रमा उत्पादन भएका स्याउ अहिले नेपाली बजारमा आउन थालेको छ । रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर मापन गर्दा न्यूनतम मापदण्ड १२ प्रतिशतभन्दा बढी गुलियोपना देखिएपछि असोज १ बाट बजार पठाउन थालिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयको भनाइ छ । 

बजारमा माग भयो भन्दैमा चाँडै टिपेर बजार पठाउँदा स्याउको गुणस्तरमा प्रश्न उठ्न थालेपछि मुस्ताङको स्याउ भदौसम्म टिप्न प्रतिबन्ध नै लगाइएको थियो । स्याउमा वास्तविक स्वाद आउने समय कात्तिकबाट मात्रै हो । सामान्यतः असोज १५ पछि टिपेका स्याउमा गुलियो स्वाद आउन थाल्छ । गाला, किङरोट जातका स्याउ छिटो पाक्ने उच्च घनत्वमा आधारित (हाइडेन्सिटी रहेको हाइब्रिड) स्याउ भने भदौ अन्तिम साताबाटै बजारमा पठाइएको भए पनि अन्य स्याउ भने असोज १ गतेपछि मात्रै बजार पठाउन थालिएको हो ।

मुस्ताङमा अहिले फुजी, जोनाप्रिन्स, गोल्डेन डेलिसियस जातका हाइडेन्सिटी तथा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड र फुजी जातका स्याउ नेपाली बजारमा पुगिरहेका छन् । 

मुस्ताङी स्याउको ब्रान्ड र मूल्य कायम राख्न असोज नलागी बजारमा नपठाउने गरी जिल्लाका पाँच वटै गाउँपालिकाका अध्यक्षले निर्णय गरेर त्यो निर्णय कार्यान्वयन गर्ने काम पनि भएको थियो । अब स्याउमा हुनुपर्ने जति गुलियोपना भएको हुनाले बेच्न थालिएको सिम्ले अचार्ड्स प्रालिका कर्म गुरुङले बताउनुभयो । मुस्ताङको निजी लगानीको ठुलो स्याउ बगान रहेका उहाँका अनुसार रिफ्याक्ट्रोमिटरबाट स्याउको गुणस्तर नाप्दा १० देखि १४ प्रतिशतसम्म गुलियोपना देखिएको छ ।

मुस्ताङ जिल्लामा एक हजार पाँच सय ८० रोपनी क्षेत्रफलमा स्याउ खेती हुन्छ । ३८ रोपनीमा उच्च घनत्वमा आधारित पाँच जातका स्याउको खेती भइरहेको छ । प्रतिहेक्टर १४.२ टन मुस्ताङमा स्याउ उत्पादकत्व रहेको छ । 

हिउँदमा पर्याप्त हिउँ नपर्दा र फुल्ने बेला असिनापानी पर्दा उच्च घनत्वबाहेकका स्याउको उत्पादनमा आधाभन्दा धेरै कमी देखिएको मार्फाका अगुवा कृषक दीपक लालचनको भनाइ छ । कृषकले व्यापारीसँग आफैँ मूल्य निर्धारण गरी बगानै ठेक्का दिने गरेकाले स्याउको थोक मूल्य भने नतोकिएको जिल्ला समन्वय समितिका उपप्रमुख आइतेलाल थकालीको भनाइ छ ।

शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको सरकारी स्याउ बगानमा वार्षिक ३० टन स्याउ उत्पादन हुने गरेको छ । बागवानी केन्द्रले स्याउको ब्रान्डी दुई हजार लिटर, साइडर तीन सय लिटर र आरुबखडाको वाइन चार सय लिटर उत्पादन गर्छ ।

मुस्ताङको मार्फा, सौरु, चोखोपानी, चिमाङ, कोवाङ, टुक्चे, जोमसोम, कागबेनी, पाक्लिङ, लुप्रा, ताम्बे, छुसाङ, चैलेलगायत गाउँमा स्याउ खेती गरिन्छ । मुस्ताङको घरपझोङ र बारागुङमुक्ति क्षेत्र स्याउ पकेट क्षेत्र हुन् । थासाङको टुकुचे, कोवाङ क्षेत्रमा केही खेती हुन्छ । उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड र लोमन्थाङमा पनि स्याउ खेती विस्तार भएको छ । 

खरिदकर्ताले बगैँचा नै बढाबढ गरेर ठेक्कामा लिने भएकाले मूल्यमा एकरूपता भने छैन । बजारले मूल्य निर्धारण गर्न खुला राखिएकाले भूगोल, गुणस्तर र समय अनुसार मूल्य फरक पर्ने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङले बताएको छ । गुणस्तर कायम राख्न स्थानीय तह र केन्द्र मिलेर स्याउ टिप्ने न्यूनतम समय असोज तोकेको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो ।