नवीनराज कुइँकेल
लमजुङ, वैशाख २६ गते । लमजुङको घलेगाउँ र भुजुङबाट सुरु गरिएको चियाखेती जिल्लाका अन्य क्षेत्रमा पनि फैलिन थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे र मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा क्षेत्रमा लगाइएको चिया खेतीले आन्तरिक पर्यटकसमेत आकर्षित गरिरहेको छ ।
विश्वमा नै उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चिया खेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा २०५५ सालदेखि चिया खेती शुरुवात गरिएको हो । अहिले क्ब्होँलासोथार गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाका विभिन्न गाउँहरुमा चिया खेती विस्तार गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका भजुङका प्रमुख प्रमोद रेग्मीका अनुसार आयोजना क्षेत्र भित्रका नागरिकलाई आयआर्जन र स्वरोजगार बनाउन थालिएको चिया खेती पर्यटक घुम्ने केन्द्र बनेको छ । पूर्वको जस्तो भु–बनोट भएकाले यहाँ चिया खेती फष्टाउँदै गएको छ । एक्याप क्षेत्रभित्र भुजुङमा तीनसय रोपनी, पसागाउँमा दुई सय र घलेगाउँमा दुई सय रोपनी जमिनमा चिया खेती गरिँदै आएको छ ।
घलेगाउँमा गरिएको चिया खेतीले पर्यटक आकर्षित गर्ने गरेको घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । यहाँ तक्दा ७८ र गुम्दा नामक चियाको खेती गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा लगाइएको चिया पर्यटकलाई खुवाउनुको साथै विदेशसम्म पुग्ने गरेको छ ।
सामुहिक रूपमा गरिएको चिया खेतीबाट आम्दानी पनि हुन थालेको छ । गाउँ आउने आन्तरिक पर्यटकले चिया किनेर लैजाने गरेका छन् । सुरुमा जीवनस्तर उकास्न गरिएको चियाखेतीले हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत भित्राउन सहयोग पुगेपछि गाउँलेले चियाखेती थप विस्तार गरेका छन् । पुस र माघ बाहेक १५÷१५ दिनको फरकमा टिप्दै आएको चियाको मुनाहरू अहिले हप्ता दिन नबित्दै टिप्ने गरेको स्थानीय बताउँछन् । भुजुङ र घलेगाउँमा चिया प्रशोधन केन्द्र स्थापना गरिएको छ । चियाको ग्रेडिङ र चाल्ने मेसिन पनि राखिएको छ ।
यहाँको चिया सदरमुकाम बेँसीसहर, पोखरा, चितवन, काठमाडौंदेखि विदेशी मुलुकमा रहेका आफन्तजनहरूलाई कोसेलीको रूपमा समेत पठाउने गरिएको छ ।