काठमाडौँ, कात्तिक २० गते । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा मतदानका लागि सर्वसाधारणदेखि सार्वजनिक क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिले समेत चासो देखाएका छन् ।
हालै मात्र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पहिलो पटक मतदाता नामावलीमा फोटोसहितको नाम लेखाउनुभएको छ । मन्त्री पुनले हालै जिल्ला निर्वाचन कार्यालय नयाँ बानेश्वर पुगेर मतदाता नामावलीमा नाम लेखाउनुभएको हो । पुनले चितवनको राप्ती नगरपालिकास्थित चितवनको वज्रहट्ठी आधारभूत विद्यालय मतदान केन्द्र रहने गरी मतदाता नामावलीमा नाम लेखाउनुभएको हो ।
मतदाता नामावलीमा नाम लेखाएपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “आहा ! आमचुनावमा भोट दिनका लागि जिन्दगीमा पहिलो चोटि नयाँ बानेश्वर गएर नाम दर्ता गरियो । १८ वर्ष पुगेका जेनजी पुस्ताका सम्पूर्ण भाइबहिनीलाई अल्छी नगरीकन फागुन २१ गतेको आमचुनावमा भाग लिनका लागि नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछु ।”
साथै अन्य व्यक्तिलाई पनि मतदाता नामावलीमा नाम लेखाउन अनुरोध गर्दै पुनले भन्नुभएको छ, “अब आउने सरकार जेनजी पुस्ताको बन्नु पर्छ । भगवान् कसम बुढो पुस्ताले देशलाई समृद्ध बनाउन एक सक्दैन, दुई सक्दैन, तीन सक्दैन, सक्दै सक्दैन । यो कुरा समयान्तरमा धु्रवसत्य साबित भइसक्यो । लौ त भाइबहिनी भोटर लिस्टमा नाम लेखाउन गइहाल त ।”
त्यस्तै चर्चित गायिका रचना रिमालले पनि केही दिनअधि बानेश्वरमै पुगेर मतदाता नामावली सूचीमा नाम लेखाउनुभएको छ । आफूले सोचेभन्दा छरितो रूपमा मतदाता नामावलीमा नाम दर्ता भएपछि खुसी हुँदै रिमालले भन्नुभयो, “आज जिल्ला निर्वाचन कार्यालय काठमाडौँबाट मतदाता नामावलीमा नाम दर्ता गरेकी छु । सरकारी सेवा यस्तो चुस्तदुरुस्त पनि हुने रहेछ । कार्यालय पुगेर लाइन बसेको १० मिनेट आसपासमै काम सकियो । एकदमै सहज र व्यवस्थित रूपमा दर्ता कक्ष सञ्चालन भइरहेको पाएँ । हजुरहरू पनि उमेर पुगी नाम दर्ता छुटाउनुभएको छ भने समयमै दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्नुहोला है ।”
जिल्ला निर्वाचन कार्यालयले हाल मुलुकभरका नयाँ मतदाताका लागि फोटोसहित नामावली सङ्कलन गरिरहेको छ । कार्यालयका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार केही दिनअघि मात्रै मुटुरोग विशेषज्ञ डा. ओमपूर्ति अनिलले पनि पहिलो पटक मतदाता नामावलीमा नाम लेखाउनुभएको छ ।
भट्टराईले भन्नुभयो, “सबैको नाम याद गर्न कठिन छ तर राजनीतिक, प्रशासनिक र स्वास्थ्यलगायतका क्षेत्रमा चर्चित व्यक्ति पहिलो पटक नाम लेखाउन आउनुभएको छ ।” उहाँका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेदेखि हालसम्ममा १४ हजार ८५१ जना नयाँ मतदाताले नामावली दर्ता गरेका छन् ।
मतदाता जुन जिल्ला वा क्षेत्रको भए पनि हाल काठमाडौँबाटै फोटोसहितको नामावली दर्ता गर्न सक्ने र मतदानको समयमा भने सम्बन्धित स्थानमै मतदाता परिचयपत्र लिएर मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम लेखाउनका लागि कात्तिक ३० गतेसम्मलाई तोकेको छ । आयोगका अनुसार निर्वाचन हुने मिति आगामी फागुन २१ गतेभन्दा एक दिनअघि अर्थात् फागुन २० गते १८ वर्ष पूरा हुने हरेक व्यक्तिले मतदान गर्न पाउने छन् ।