• १६ चैत २०८२, सोमबार

इरान युद्ध अन्त्यका लागि वार्ताको पहल

blog

फाइल तस्बिर

इस्लामावाद, चैत १५ गते । प्रमुख क्षेत्रीय शक्तिहरूका शीर्ष कूटनीतिज्ञहरू मध्य पूर्वमा लडाइँ कसरी अन्त्य गर्ने भनेर छलफल गर्न आइतबार पाकिस्तानमा भेला भएका छन्। 

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण जारी राखेपछि र तेहरानले यस क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेर जवाफ दिएपछि प्रगतिका सङ्केत भने टाढा देखिएका छन् । 

इस्लामावादमा हुने वार्तामा साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरू सहभागी हुने पाकिस्तानले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले इरानका राष्ट्रपति मसुद पेजेस्कियानबीच क्षेत्रीय तनावबारे व्यापक छलफल भएको बताउनुभएको छ । 

इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको एक महिना लामो युद्धमा तीन हजारभन्दा बढी मानिस मारिएका छन् ।

अमेरिका र इजरायलले इस्लामावादको वार्तामा सहभागिता जनाएका छैनन् । इरानी संसद्का सभामुख मोहम्मद बाघर कलिबाफले अमेरिकाले मध्यपूर्वमा थप सेना पठाउने क्रममा वार्ता बहाना बनाउन खोजेको बताउनुभयो । 

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उहाँले कुनै पनि स्थलगत आक्रमणको विरुद्ध चेतावनी दिनुभएको छ र इरान अमेरिकी सेनालाई ‘आक्रमण गर्न’ र अमेरिकी क्षेत्रीय सहयोगीहरूलाई उनीहरूको भूमि प्रयोग गर्न दिएमा सजाय दिन तयार रहेको बताउनुभएको छ ।

इजरायलले आइतबार इरानबाट आक्रमणको श्रृङ्खला आएको बताएको छ भने र तेहरान क्षेत्रमा व्यापक विस्फोटको आवाज सुनिएको छ । 

यसैबिच, इजरायलले आणविक अनुसन्धान र विकासका लागि प्रयोग भएको दाबी गरेका विश्वविद्यालयसहित कैयौँ विश्वविद्यालयमा इजरायलले हवाई आक्रमण गरेपछि इरानले आइतबार आक्रमण बढाउने चेतावनी दिएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै इरानले इजरायली विश्वविद्यालय र यस क्षेत्रका अमेरिकी विश्वविद्यालयका शाखालाई ‘वैध लक्ष्य’ मान्नेछ ।

जर्जटाउन, न्यूयोर्क विश्वविद्यालय र नर्थवेस्टर्न सहित अमेरिकी कलेजहरूको कतार र युएईमा क्याम्पसहरू छन्।

“यदि अमेरिकी सरकार यस क्षेत्रका आफ्ना विश्वविद्यालयहरूलाई बचाउन चाहन्छ भने, उसले सोमबार १२ बजेसम्म (इरानी) विश्वविद्यालयहरूमा भएको बमबारीको निन्दा गर्नुपर्छ,” गाड्र्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

विज्ञप्तिमा अमेरिकासँग इजरायललाई इरानी विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूमा आक्रमण गर्नबाट रोक्न पनि माग गरिएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले शनिबार इरान युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी र इस्फहान युनिभर्सिटी अफ टेक्नोलोजी गरी दर्जनौ विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू प्रभावित भएको बताउनुभएको थियो । रासस