गजेन्द्र गुरुङ
खजुरा, चैत १५ गते । बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा गएराति एक युवती आगोले जलेको अवस्थामा भेटिएको र उपचारका लागि अस्पतालमा लगेपछि मृत्यु भएको थियो ।
मृतक युवतीको पहिचान खुलेको प्रनाउ पातलीले जानकारी दिनुभयो । जलेको अवस्थामा भेटिएकी युवती नेपालगन्ज १२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार गएराति करिब १२ बजेको समयमा नेपालगन्ज १२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै एक युवती आगोले जलेर घाइते बनेको अवस्थमा फेला पारी उपचारका लागि तत्काल भेरी अस्पताल पु¥याइएको र उपचारकै क्रममा ती युवतीको मृत्यु भएको थियो ।
मृतकका परिवारले तीन जनाको नाममा किटानी जाहेरी दिएको र उनीहरुलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रनाउ पातलीले बताउनुभयो । उहाँका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती युवतीको पहिले नै अन्य व्यक्तिसँग विवाह भएको र ३–४ वर्षकी एक छोरी पनि रहेकी थिइन् । हाल आरोपीमध्येका एक जनासँग युवतीको सम्बन्ध रहेको बुझिएको पनि उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेकाबाहेक पनि अन्य व्यक्तिको संलग्नताका बारेमा थप अनुसन्धान भइरहेको तथा के कसरी घटना घट्यो भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । मृतक युवतीको शव भेरी अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।