काठमाडौँ, चैत १५ गते । अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अङ्ग्रेजी र संस्कृत वाङ्मयमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा.डा. जयराज आचार्यलाई अर्पण गरिएको छ ।
दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रद्वारा काठमाडौँमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले ५० हजार रुपियाँ नगद र अभिनन्दनपत्रसहित आचार्यलाई पुरस्कृत गर्नुभएको हो । सो अवसरमा प्रा.डा. आचार्यकी धर्मपत्नी उषा आचार्यलाई पनि सम्मान गरिएको थियो ।
प्रमुख अतिथि शर्माले स्मृतिकेन्द्रले प्रतिभा सम्मानका लागि उपयुक्त पात्र छान्ने परम्परालाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो । शर्मा स्वयंले १५ वर्षअघि यो पुरस्कार प्राप्त गर्नुभएको थियो ।
त्यसै गरी, आचार्यको व्यक्तित्व र कृतित्वबारे ‘जुम’ मार्फत परिचर्चा कार्यक्रम पनि सम्पन्न भएको छ । स्मृतिकेन्द्रका सल्लाहकार, कोष संस्थापक कवि हरिहर अर्ज्याल, साहित्यकार राजेन्द्रप्रसाद अर्ज्याल, अनेसास बिओटी अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य लगायतको उपस्थितिमा सो कार्यक्रम भएको हो ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष एवं वरिष्ठ इन्जिनियर ईश्वरचन्द्र बानियाँले गर्नुभएको थियो भने महासचिव कपिलचन्द्र खनालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।