छवि पाण्डे
बुटवल, चैत १५ गते । केही वर्षअघि सर्वोच्च अदालतको इजलासमा एउटा युवाको बहसले देशकै राजनीति तरङ्गित बनायो । तत्कालीन सरकारले संसद् विघटन गर्दा त्यसका विरुद्धमा कानुनको ठेली बोकेर रिट हाल्ने तिनै युवा अधिवक्ता हुनुहुन्थ्यो सुलभ खरेल । अदालतले उहाँको पक्षमा फैसला सुनायो, संसद् पुनस्र्थापना भयो र सुलभ एकाएक चर्चाको शिखरमा पुग्नुभयो तर उहाँको यात्रा अदालतको बहस र कानुनका धारामा मात्र सीमित रहेन । आज उही सुलभ रुपन्देही क्षेत्र नं. २ का जनताको भारी मतसहितको विश्वास बोकेर नीति निर्माणको सर्वोच्च थलो ‘संसद्’ छिर्नुभएको छ ।
नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि वकालतको मैदानमा होमिनुभएका सुलभले अन्तर्राष्ट्रिय संस्थाहरूमा समेत कानुन अध्ययनको अनुभव बटुल्नुभएको छ । उहाँ भन्नुहुन्छ, “राजनीति पेसा होइन, सेवा हो ।” हिजो अदालतमा संविधान जोगाउन बहस गर्ने यी युवाले आज संसद्मा बसेर देशका लागि ‘सिस्टम’ बनाउने सपना देखिरहनुभएको छ ।
उहाँका लागि यो पाँच वर्षे कार्यकाल केवल सत्ताको कुर्सीमा बस्नु मात्र होइन, बरु बर्सौंदेखि जकडिएको भ्रष्टाचारको जालो च्यात्ने एउटा अवसर हो । उहाँको दृढ अठोट छ, “भ्रष्टाचार देशको प्रमुख शत्रु हो, यसलाई फाल्न कठोर कानुनको आवश्यकता छ ।”
रुपन्देही–२ का मतदाताले दिएको अपार मायालाई उहाँ परिवर्तनप्रतिको प्रतिबद्धता मान्नुहुन्छ । सुलभको नजरमा बुटवल र वरपरको क्षेत्र केवल एउटा सहर मात्र होइन, यसलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ‘हब’ बनाउने उहाँको स्पष्ट मार्गचित्र छ ।
उहाँले आफ्ना प्राथमिकताका केही मूलभूत विषयसमेत उल्लेख गर्नुभएको छ । सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्य संयन्त्रलाई जनताप्रति उत्तरदायी बनाउने र कानुनी राज्यको स्थापना गर्ने खरेलको दृढ अठोट छ ।
त्यस्तै बर्सौंदेखि अलपत्र परेको झुम्सा खानेपानी आयोजनालगायतका अधुरा आयोजनालाई तार्किक निष्कर्षमा पु¥याउने पनि उहाँको योजना छ । उहाँ भन्नुहुन्छ, “औद्योगिक पुनर्जागरण पनि मेरो प्राथमिकतामा छ, यसका लागि बन्द अवस्थामा रहेको बुटवल धागो कारखानालाई पुनः सञ्चालनमा ल्याउन ठोस योजनाका साथ बहस पैरवी गर्ने छु ।” त्यस्तै युवा उद्यमशीलताको विकासमा जोड दिने भन्दै उहाँले युवालाई विदेश पलायन हुनबाट रोक्न सिपमूलक तालिम र रोजगारीका अवसर सिर्जना गर्ने बताउनुहुन्छ ।
सुलभको आत्मविश्वास लोभलाग्दो छ । उहाँ भन्नुहुन्छ, “जनताले मलाई ठुलो आशले जिताएका छन् । यदि मैले उनीहरूको मन जित्न सकिनँ भने राजनीतिबाटै सन्न्यास लिन्छु ।” यो एउटा नेताले आफ्ना मतदाताप्रति गरेको सबैभन्दा ठुलो र साहसी वाचा हो ।
उहाँ चुनावलाई आवधिक प्रक्रिया मात्र मान्नुहुन्न, बरु कामको परीक्षण हुने कडी ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “पाँच वर्षपछि जब फेरि चुनाव आउँछ, जनताले मेरो अनुहार होइन, मैले गरेका काम खोजून् ।” रुपन्देही–२ मा २०६४ यताका चुनावमा लगातार एमाले नेता विष्णु पौडेल विजयी हुँदै आउनुभएको थियो तर यसपल्टको निर्वाचनमा खरेल ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेलले १२ हजार ८६१ मत मात्र पाउनुभयो ।
नारामा मात्र सीमित रहने राजनीतिक परिवर्तनलाई व्यवहारमा उतार्न सुलभ खरेल अहिले खरो उत्रने मिसनमा हुनुहुन्छ । कृषि, साना तथा मध्यम व्यवसायको प्रवर्धन र कानुनी पहुँचलाई सहज बनाउने उहाँको अठोटले रुपन्देही मात्र होइन, समग्र देशकै युवापुस्तामा एउटा आशा जगाएको छ ।