काठमाडौँ, वैशाख १८ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी अर्धशतक बनाएर खेलिरहनु भएको छ ।
घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा उपकप्तान ऐरीले लगातार तीन खेलमा अर्धशतक बनाउनुभएको हो । वैशाख १२ गते भएको युएईविरुद्धको पहिलो खेलमा प्लेयर अफ दी म्याच बन्नुभएका ऐरीले ९० बलको सामना गर्दै ७५ रन बनाउनुभएको थियो । उहाँले उक्त खेलमा बलिङतर्फ ३० रन खर्चिएर एक विकेट हात पार्नुभएको थियो ।
दोस्रो खेलमा ओमानविरुद्धसमेत उहाँले अर्धशतक बनाउनुभयो । कुनै पनि ब्याट्सम्यान टिक्न नसकेको उक्त खेलमा दिपेन्द्रले ६२ बलको सामना गर्दै ६० रन बनाउनुभएको थियो । उक्त खेलमा उहाँले ९ ओभर बलिङ गर्दा ५६ रन दिएर दुई विकेट हात पर्नुभएको थियो ।
शुक्रबार भएको तेस्रो खेलमा पाँचौँ क्रममा ब्याटिङमा आउनुभएका दिपेन्द्रले ५३ बलमा अर्धशतक पूरा गर्नुभएको हो । ४२ ओभरको समाप्तिमा ५ विकेट गुमाएर नेपालले २२० रन बनाउँदा ऐरी र गुल्सन झा क्रिजमा हुनुहुन्छ । ऐरी ७७ रन बनाएर खेलिरहनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही वैशाख २२ गतेदेखि सुरु भएको लिगमा नेपाल र युएईबिच आज दोस्रो खेल हो । नेपालले पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।
नेपाली टोलीमा अर्जुन कुमाल, विनोद भण्डारी, नन्दन यादव र ललितनारायण राजवंशीलाई स्थान दिइएको छ । कुशल भुर्तेल, आशिफ शेख, करण केसी र बसिर अहमदलाई आजको खेलमा आराम दिइएको छ । टोलीका अन्य खेलाडीमा भीम सार्की, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शनकुमार झा, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् ।
आजको खेलमा ओपनर विनोद भण्डारीलेसमेत अर्धशतक बनाउनुभएको छ । ७९ बलको सामना गर्दै उहाँले ५६ रनको अर्धशतकीय इनिङ खेल्नुभएको हो ।