राजकुमार भट्टराई
खोटाङ, कात्तिक २० गते । खोटाङमा थपिएका नयाँ मतदातामा ९० प्रतिशत जेनजी युवा रहेका छन् । निर्वाचन आयोगले सञ्चालन गरिरहेको मतदाता नामावली दर्तामा जिल्लामा हालसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय खोटाङमा हरेक दिन २० जनाभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको कार्यालय पमुख रबिन मगरले जानकारी दिनुभयो । असोज १० देखि कात्तिक २० गतेसम्म ९ सय ४८ जनाले नाम दर्ता गराएका हुन् । उहाँका अनुसार थपिएका नयाँ मतदातामा ९० प्रतिशत भन्दा बढी जेनजी उमेर समुहका युवाहरु रहेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा सबै भन्दा धेरै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । सबैभन्दा कम बराहपोखरी गाउँपालिकामा हालसम्म ४ जनाले मात्र नाम दर्ता गराएको कार्यालय प्रमुख मगरले बताउनुभयो ।
निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ । निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने बताइएको छ । फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेनजी मतदाता समेतलाई मताधिकार दिलाउन अध्यादेश ल्याएपछि रोकिएको मतदाता नामावली दर्ता प्रक्रिया खुलेको हो ।
कार्यालयको डाटाअनुसार खोटाङमा कात्तिक १६ गतेसम्म १८ वर्ष पुग्ने मतदाताको सङ्ख्या एक लाख ४४ हजार ४ सय २९ जना रहेको छ । हाल सङ्कलन भइरहेको मतदाता नामवलीमा नाम दर्ता कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।