• २० कात्तिक २०८२, बिहिबार

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल चलचित्र विकास बोर्डको संयोजनामा आयोजित चलचित्रकर्मीहररूसँगको अन्तरक्रियामा । तस्बिर : केशब गुरुङ

काठमाडौँ, कात्तिक २० गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि प्रतिवद्धताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

बिहीबार मन्त्रालयमा चलचित्र विकास बोर्डको संयोजनामा आयोजित चलचित्रकर्मीहरुसँगको अन्तरक्रियामा उहाँले समग्र चलचित्रको हितका लागि नीतिगत सुधार गरिने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले चलचित्रमा देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने, नयाँ बहस सिर्जना गर्ने कथावस्तु हुनुपर्नेमा जोड दिनुभयो । 

उहाँले भन्नुभयो,“सिनेमा समाजको ऐन पनि हो । देश, समाज र जनतालाई मार्गनिर्देशन गर्ने सिनेमाको ‘कन्टेन्ट’ र ‘स्कृष्ट’ बालियो, सन्देशमुलक, गुणस्तरीय र समाजले रुचाउने हुन जरुरी छ ।”

मन्त्री खरेलले सिनेमाको कथावस्तु, समय सुहाउँदो अडियन्स तथा कथावस्तुमा नवीनतम प्रयोग हुन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले देश र जनताको हित र चलचित्रको हितका लागि आफ्नो अवधिमा प्रभावकारी काम गर्ने विश्वास दिलाउनुभयो । 

मन्त्री खरेलले भन्नुभयो,“देश, जनता र चलचित्रको हितमा हुने कुनै पनि कामको लागि मन्त्रालयको तर्फबाट साथ सहयोग रहनेछ । मेरो कार्यकालमा चलचित्र क्षेत्रको हितमा कार्यक्रम र कार्ययोजना ल्याउनुस् मन्त्रीकोतर्फबाट कुनै पनि फाइल रोकिने छैन ।”

सञ्चारमन्त्री खरेलले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा तत्काल सहि व्यक्ति ल्याउन निर्देशन पनि दिनुभयो । उहाँले भन्नुभयो,“सेन्सर बोर्ड र विकास बोर्डहरूसँग समन्वय गरि तत्काल ‘राइट म्यान इन राइट प्लेस’ ल्याउनूस् ।”

उहाँले चलचित्रकर्मीले उडाएका ड्रोन, अनुदान, सामाजिक सुरक्षा लगायत विषयमा मन्त्रालयले छलफल गरेर सहजिकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।


सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र क्षेत्रको दिगो विकासका लागि मन्त्रालयले आवश्यक सहजिकरण गर्ने बतउनुभयो । उहाँले चलचित्रकर्मीले उठाएको सेन्सर, ड्रोन, विदेशी सिनेमा छायाँकनलगायत विषय अन्तरमन्त्रालय र सम्बन्धित निकायसँग छलफल गरी समाधानका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकारले सिनेमा हल नपुगेका जिल्ला वा शहरमा नयाँ हल निर्माणका लागि प्रोत्साहन गर्न आग्रह गर्नुभयो । उहाँले चलचित्र ऐन तथा विधेयक परिमार्जन, चलचित्र कल्याणकारी कोष र राष्ट्रिय स्टुडियो निर्माणमा सरकारी सहयोग र सेन्सर प्रणालीलाई सरल र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले कर्णाली प्रदेशभरमा एउटा मात्र सिनेमा हल रहेको विषयलाई उठान गर्दै हलको संख्याबढाउनुपर्नेमा जोड दिनुभयो । 

कलाकार दिपकराज गिरील हरेक व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा कलाकर्मीको विगतदेखि बर्तमान सम्मको योगदानको विषयलाई अतिरञ्जित बनाइन नहुनेमा जोड दिनुभयो । कलाकार केदार घिमिरेले जेनजी आन्दोलनपछि कलाकारले विभिन्न आरोप लगाइने गरेको भन्दै स्वतन्त्र कलाकारमाथि भइरहेको प्रहार बन्द हुनुपर्ने धारणा राख्नुभयो ।

वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रतिनिधि अधिकार ऐन कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । 

कलाकार जितु नेपाल, निर्देशकद्वय प्रदिप भट्टराई र सरोज पौडेल, नायक प्रदीप खड्काले सेन्सरलाई खुकुलो बनाउनुपर्नेमा जोड दिनुभयो । 

छॉयाकार विष्णु कल्पितले ड्रोन चलाउन र विदेशी चलचित्र छायांकनलाई सहज बनाइनुपर्ने औंल्याउनुभयो ।

नेपाली चलचित्र क्षेत्रका शीर्ष कलाकार, निर्देशक, निर्माता र संघसंस्थाका प्रतिनिधिहरूले सञ्चारमन्त्री खरेलसँग मन्त्रालयमा अन्तरक्रिया गरेका हुन । 

अन्तरक्रियामा कलाकारहरु केदार घिमिरे, दीपक राज गिरी, जितु नेपाल, प्रदीप खड्का, नीति शाह, रामकृष्ण ढकाल, शिव श्रेष्ठ, रविन्द्र खड्का, सुरेश अधिकारी लगायतका चर्चित कलाकारहरूको उपस्थिति थियो । साथै निर्देशक दीपेन्द्र के खनाल, दिनेश राउत, जनक खड्का, पुष्कर लामा र नरेन्द्र महर्जन पनि सहभागी हुनुहुन्थ्यो ।