• २६ वैशाख २०८२, शुक्रबार

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्दै मकवानपुर बहुमुखी क्याम्पस

blog

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनबारे जानकारी दिन मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागीहरू । तस्बिर : स्मिता अर्जेल

स्मिता अर्जेल
मकवानपुरगढी, वैशाख २६ गते ।
मकवानपुरको हेटौँडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ ।

यसअघि दुई पटक राष्ट्रिय शैक्षिक सम्मेलन गरिसकेको यस क्याम्पसले शनिबारदेखि अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन आयोजना गर्ने भएको हो  ।

शनिबारदेखि सञ्चालन हुने सम्मेलनमा करिब एक सय जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने क्याम्पस प्रमुख डा.यमबहादुर सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्मेलन सोमबारसम्म जारी रहने छ । जसमा देश विदेशबाट र भर्चुअल सहभागी गरेर तीन सय जना विज्ञ र प्रतिनिधिहरूको सहभागिता रहने छ । 

‘दिगो विकासको लक्ष्यको स्थानीयकरण : युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुने भएको क्याम्पस प्रमुख सिलवालले बताउनुभयो ।

‘स्थानीय स्तरमा दिगो विकास लक्ष्यहरूलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता सक्षम बनाउन र स्थानीय स्तरका दिगो विकास लक्ष्यहरूलाई प्राप्त गर्ने प्रयासमा यवा विद्यार्थीको भूमिका बढाउने मूल उद्देश्य बोकेर सम्मेलन आयोजना गरिएको हो ।’ उहाँले भन्नुभयो ।

सम्मेलनको उद्धाटन विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले हेटौँडाको एभोकाडो होटलमा दिउँसो २ बजे गर्नुहुने छ ।

कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय अनुसन्धानकर्ताहरूको प्रस्तुति र अनुसन्धनात्मक जर्नल प्रकाशन रहने छ । 

युजिसी नेपालको सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारहरू तथा स्वदेशी तथा विदेशी विश्वविद्यालयहरू सँगको सहकार्यमा क्याम्पसले विश्वविद्यालय बन्ने यात्रा तयारी गर्नेगरी अगाडि बढिरहेको प्रमुख सिलवालले बताउनुभयो ।