• ८ पुस २०८२, मङ्गलबार

निर्वाचनको तयारी तीव्र दलका गतिविधि भने सुस्त

blog

सन्तोष सुवेदी 

पाख्रीबास (धनकुटा), पुस ८ गते  । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएका हुन् ।

निर्वाचनका लागि सुरक्षा समिति, मतदान स्थल र केन्द्रको अवस्था निरीक्षण र सुरक्षा योजनाको तयारी भइरहेको छ । चार नगरपालिका र तीन गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको धनकुटामा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा रहेका जिल्ला सुरक्षा समिति मतदान स्थल र केन्द्रको निरीक्षण अनुगमनलाई तीव्रता दिएको छ । उक्त अनुगमन टोलीले गाउँ गाउँ पुगेर सुरक्षाव्यवस्थाको प्रभावकारिता जाँच, प्रशासनिक कमजोरीको सुधारका साथै ठाउँ ठाउँमा स्थानीयलाई भेटेर निर्वाचनका लागि जनविश्वास अभिवृद्धि गर्ने प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । उहाँले मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्थापन, मतपेटिकाको ढुवानीको प्रबन्धलगायतका विषयको योजना बनिरहेको पनि जानकारी दिनुभयो । 

प्रमुख जिल्ला अधिकारी खड्का, प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्री, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रकाश सिग्देल र नेपाली सेनासहितको सुरक्षा संयन्त्र टोली मतदान स्थलको अवस्था बुझ्न गाउँ गाउँ पुगेको उहाँले बताउनुभयो ।

धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार सुरक्षा संयन्त्र भूगोल र सडकको अवस्था, जोखिम मूल्याङ्कन, जनशक्ति परिचालन, भौतिक सुरक्षा व्यवस्थापन, मतपेटिका र मतदान सामग्री ढुवानी, भिड नियन्त्रण, आकस्मिक व्यवस्थापन, प्रभावकारी समन्वय र सञ्चारका लागि स्थलगत अध्ययन र रणनीतिक योजना निर्माणमा जुटेको छ । उहाँले भन्नुभयो, “तोकिएका केन्द्र अनुसार सुरक्षाकर्मी प्रहरीको मोबाइल र रिजर्भ टोली परिचालन, क्विक रेस्पोन्स कति खटाउने भनेर अध्ययन भएको छ । प्रभावकारी सम्पर्क र मद्दत व्यवस्थापनका लागि बाटोघाटो र भूगोलको समेत अध्ययन गरिएको छ ।” 

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा ११९ मतदान स्थल तय भएका छन् । मतदान स्थलको टुङ्गो लागे पनि मतदान केन्द्रको सङ्ख्या भने केही थपघट हुन सक्ने छ । यसअघिका निर्वाचनमा धनकुटाका ११९ मतदान स्थलमध्ये ५४ सामान्य, ४९ संवेदनशील र १६ मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको थियो । तिनै निर्वाचन स्थल र केन्द्रको स्थलगत अनुगमन गरी थप सुरक्षा विश्लेषण र स्तर निर्धारण गरिने बताइएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद अधिकारीका अनुसार कार्यालयले मतदाता नामावली अद्यावधिक, दाबीविरोधको काम चलिरहेको बताउनुभयो । यस्तै एउटै वडाभित्र आफूलाई पायक पर्ने केन्द्र रोजेर परिवर्तन गर्न सकिने, मतदाता विवरणका त्रुटि सच्याउने, मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउने र अन्तिम नामावली प्रकाशनको तयारीमा जुटेको उहाँको भनाइ रहेको छ ।

आयोगले निर्वाचन तयारी सुरु गरिरहेका बेला गाउँघरमा भने राजनीतिक दलका निर्वाचनका लागि प्रशासनिक तयारी अगाडि बढे पनि दलका निर्वाचनकेन्द्रित गतिविधि भने सुस्त रहेका छन् । 

नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश राईले भने निर्वाचनका लागि पार्टी आफ्नो तरिकाले तयारीका साथ अगाडि बढेको र सम्पूर्ण तयारीसमेत पूरा रहेको बताउनुभयो । यस्तै सरकारले निर्वाचनको मिति तोके पनि तोकिएको मितिमा निर्वाचनको सम्भावना नरहेको एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बू बताउनुहुन्छ । 

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका नेता हेमचन्द्र किराँती भने पार्टी समायोजनका कामले थोरै अलमल भए पनि आफ्नो पार्टी निर्वाचनका लागि तयार रहेको बताउनुभयो । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश सदस्य दीपक गुरागाईंले भने १४ वटै जिल्लामा सङ्गठन विस्तार र प्रतिनिधि सभाका लागि उम्मेदवार प्रारम्भिक छनोट प्रव्रिmया सुरु गरिसकेको बताउनुभयो ।