• २५ वैशाख २०८२, बिहिबार

विद्यार्थी अभावमा विद्यालय बन्द, तीन विद्यालयको तह घटुवा

blog

विद्यार्थी अभावमा बन्द भएको क्यामिनकोट माध्यामिक विद्यालय। तस्बिर–गोरखापत्र

अमरराज नहर्की

तनहुँ, वैशाख २५ गते। विद्यार्थीले अभावले तनहुँको व्यास नगरपालिकामा एक माध्यामिक विद्यालय बन्द भएको छ भने तीन विद्यालयको तह घटाइएको छ। चालु शैक्षिक सत्रमा बन्द तथा तह घटेका हुन्। व्यास नगरपालिका–७ स्थित क्यामिनकोट माध्यामिक विद्यालय बन्द भएको व्यास नगरपालिका सूचना अधिकारी तथा शिक्षा शाखाका प्रमुख केदारराज आचार्यले बताउनुभयो। 

चालु शैक्षिक सत्रमा एकजना विद्यार्थी पनि भर्ना गर्न नआएकोले बन्द गर्नु परेको उहाँले जानकारी दिनुभयो। विद्यार्थीलाई प्रमाणपत्र लिन तथा भौतिक पूर्वाधारको संरक्षणको लागि हाल एकमात्रै शिक्षक राखिएको आचार्यले बताउनुभयो। 

आचार्यले भन्नुभयो, भर्नाको समयमा शिक्षक आन्दोलित भएकोले पनि यस पटक अभिभावकले भर्ना गर्न आएनन्, विद्यार्थी नभएकोले बन्द गरेका हौं।’ एसइई दिएका विद्यार्थीहरु विद्यालयबाट प्रमाणपत्र लिनुपर्नेले भएको एक जना शिक्षक राखिएको र अन्य शिक्षकको आवश्यकता अनुसार अन्य विद्यालयमा पठाइएको बताउनुभयो। गत वर्ष २२ जना मात्रै विद्यार्थी सो विद्यालयमा रहेको उहाँले जानकारी दिनुभयो। सूचना अधिकारी आचार्यका अनुसार वडा नम्बर ५ स्थित शुक्र माध्यामिक विद्यालय तह घटुवा गरेर आधारभूत बनाइएको छ। सोही वडाको चुँदेर स्थित पदम प्राथमिक विद्यालयमा चार जना मात्रै विद्यार्थी भएकोले बन्द हुने स्थितिमा पुगेका छन्। त्यस्तै व्यास नगरपालिका–१३ स्थित गुँदीफच्याङ आधारभूत विद्यालयलाई कक्षा १ देखि ८ सम्म पढाइ हुँदै आएकोमा तह घटाएर ५ कक्षासम्म मात्रै कायम गरिएको छ।

गत वर्ष व्यास नगरपालिका–९ स्थित बसाहस्थान माध्यामिक विद्यालय विद्यार्थी अभावले बन्द भएको जानकारी दिनुभयो। आचार्यले भन्नुभयो, ‘स्थानीय तथा सरोकारवाला सामुदायिक विद्यालय सुधार गर्नुपर्छ भन्ने चिन्ता मात्रै व्यक्त गर्छन् तर व्यवहारमा काम गर्दैनन् जसले गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएका छन्।’  शैक्षिकस्तर सुधार गर्न शिक्षकका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न निर्देशन गरिएको आचार्यले जानकारी दिनुभयो। निर्देशन दिइएको भएपनि कतिपयले लुकीछिपी निजी विद्यालयमा भर्ना गरेको पाइएकोले अनुगमन भइरहेको आचार्य बताउनुहुन्छ।