सर्लाही/बर्दीबास समाचारदाता
सर्लाही/बर्दीबास, पुस ८ गते । मधेश प्रदेशमा सञ्चालित तीन वटा चिनी मिल सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका चिनी मिलमा सर्लाहीमा दुई र महोत्तरीमा एक रहेका छन् ।
सर्लाहीका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका हुन् । इन्दुशङ्कर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले सोमबार बिहान १० बजेदेखि मिल सञ्चालन गरी उखु पेल्न सुरु गरिएको जानकारी दिनुभयो । इन्दुशङ्कर चिनी उद्योगमा दैनिक ३५ हजार र १५ हजार गरी ५० हजार क्विन्टल उखु पेल्ने क्षमता भएको बेग्लाबेग्लै दुई वटा मिल छन् । अहिले सुरुमा ३५ हजार क्षमताको मिल चलाएर उखु पेल्न सुरु गरिएको उहाँले बताउनुभयो ।
किसानले प्रशस्त उखु ल्याउन थालेपछि भने दुई वटै मिल सञ्चालन गरिने उहाँको भनाइ छ । इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष चैतसम्म मिल सञ्चालन गरेर ३५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य लिएको छ ।
यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले भने दुई दिनदेखि उखु पेलिरहेको जनाएको छ । उद्योगले शनिबार मध्याह्नदेखि उखु पेल्न सुरु गरेको उद्योगका प्रशासकीय प्रमुख शिवशङ्कर महतोले जानकारी दिनुभयो ।
दैनिक २० हजार क्विन्टल उखु पेल्ने क्षमता रहेको महालक्ष्मीले यस वर्ष २० लाख क्विन्टलभन्दा बढी उखु पेल्ने लक्ष्य लिएको प्रशासकीय प्रमुख महतोले बताउनुभयो ।
त्यस्तै जिल्लाको दक्षिणपश्चिम भेगमा रहेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने तत्काल सञ्चालन नहुने भएको छ । उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले पुस १५ तिरबाट मिल सञ्चालन गर्ने गरी तयारीमा जुटेको बताउनुभयो । किसानलाई अघिल्ला वर्षमा खरिद गरेको उखुको पैसा दिन बाँकी नै रहेकाले अन्नपूर्ण चिनी उद्योग सङ्कटमा रहेको छ । पुरानो बक्यौता रकम माग गर्दै केही साताअघि यो उद्योगविरुद्ध किसान धर्नामा बसेका थिए ।
एभरेस्टलाई उखु अभाव
यसै गरी महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले पनि सोमबारदेखि उखु पेल्न सुरु गरेको छ । ढिलो सञ्चालन सुरु भए पनि शीतलहरका कारण उखु आपूर्ति प्रभावित हुँदा मिलले सुरुवातमै उखु अभावको समस्या भोग्नु परेको जनाएको छ । एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार मङ्सिरमै डोङ्गा पूजा सम्पन्न भए पनि पुस ७ गतेदेखि मात्र औपचारिक रूपमा पेल्न सुरु भएको हो ।
उहाँका अनुसार दैनिक ५५ हजार क्विन्टल उखु पेल्ने क्षमता रहेको एभरेस्टलाई न्यूनतम ३० हजार क्विन्टल उखु आवश्यक पर्छ तर हाल मिल यार्डमा करिब १५ हजार क्विन्टल उखु मात्र पुगेको छ, जसले कम क्षमतामा सञ्चालन गर्दा पनि करिब १२ घण्टाका लागि मात्रै पुग्ने अवस्था छ । थप उखु आउने आशामा सोमबार बिहान १० बजेदेखि पेल्न सुरु गरिएको ठाकुरले जानकारी दिनुभयो ।
उखु किसानका अनुसार यस वर्ष तराई क्षेत्रमा शीतलहर छिट्टै सुरु भएकाले उखु आपूर्तिमा असर परेको हो । गत वर्ष पुस २४ देखि शीतलहर परेको भए पनि यस वर्ष भने पुस ४ देखि नै यसको प्रभाव देखिन थालेको किसानको भनाइ छ ।
उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाका अनुसार पछिल्ला चार/पाँच दिनदेखि जिल्लाको दक्षिणी क्षेत्रमा घाम नलाग्दा खेती किसानीमा प्रतिकूल असर परेको छ । यद्यपि पेल्न भर्खरै सुरु भएकाले आगामी दिनमा उखु आपूर्ति क्रमशः बढ्दै जाने उहाँले बताउनुभयो ।