• १६ चैत २०८२, सोमबार

एचपिभी खोप नियमित सञ्चालन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी भ्याक्सिनलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर सञ्चालन गर्न लागेको हो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपिभी भाइरसविरुद्धको खोप माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रममार्फत सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय तहमा कक्षा ६ मा अध्ययनरत सबै बालिका र १० वर्षका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरेर एचपिभी खोप सञ्चालन गरिने छ । 

पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभीविरुद्धको खोप एक मात्रा लगाएर पुग्ने जानकारी दिँदै डा. गौतमले खोप सुरक्षित र जीवनरक्षा गर्ने भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । 

यसअघि सरकारले एचपिभीविरुद्धको खोप अभियान सुरु गरेर देशभरका नौ वर्षदेखि १४ वर्ष उमेर समूहका १७ लाख किशोरीलाई यो खोप लगाइसकेको छ । डा. गौतमले सरकारले माघबाट खोप अभियान सञ्चालन गर्नका लागि विद्यालय र विद्यालयबाहिर खोप केन्द्र तय गरेको जानकारी दिनुभयो । 

एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरिसकेको र राष्ट्रिय खोप सल्लाहकार  समितिको सुझावपछि मात्र नेपालमा लगाउन सुरु गरिएको जानकारी गराउँदै उहाँले एचपिभीविरुद्धको खोपलाई लिएर थुप्रै भ्रम सिर्जना भए पनि खोप सुरक्षित र पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । सरकारले २०३४ सालदेखि खोप अभियान सुरु गर्दै आएको छ । 

विश्व स्वास्थ्य सङ्गठनका डा. पवन उपाध्यायले खोप अभियान सञ्चालन गरेको ५० वर्षमा विश्वमा खोपले १५ करोड ४० लाखको जीवन बचाएको अध्ययनले देखाएको बताउनुभयो । उहाँले खोप कार्यक्रम सञ्चालन गर्न सुरु गरेदेखि बाल मृत्युदर घट्दै गएको जानकारी दिनुभयो ।