• २५ वैशाख २०८२, बिहिबार

जसपाका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश

blog

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुहुँदै । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), बैशाख २५ गते । सप्तरीको विष्णुपुर गाउँपालिकामा बिहीवार आयोजित पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका पूर्व केन्द्रीय सदस्य विशेश्वर रजकसहित १ सय ५० बढी नेता कार्यकर्ता जनमत पार्टी प्रवेश गरेका छन् । 

जनमत पार्टी विष्णुपुर गाउँपालिका समितिले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस जसपा नेपाल र सद्भावना पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता जनमत पार्टी प्रवेश गरेका हुन् ।

जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष डा. सिके राउतले उहाँहरुलाई गम्छा, माला र टीका लगाएर पार्टी प्रवेश गराउनुभयो । 

कार्यक्रममा अध्यक्ष राउतले राज्यको विभेदकारी नीतिविरुद्ध संगठित हुनुको विकल्प नरहेको बताउनुभयो । पार्टीमा इमान्दार अनुभवी नेताहरु प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै पार्टीमा नेताहरूको आगमनले सुशासन र अधिकार सुनिश्चित्ताको लडाईमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

जसपा नेपाल परित्याग गरी रजकको नेतृत्वमा एकसय जना, नेपाली काँग्रेस परित्याग गरी हरेराम ठाकुरको नेतृत्वमा करिब ३५ जना तथा सद्भावनाका स्थानीय नेता कार्यकर्ता करिब १२ जना जनमत पार्टी प्रवेश गरेको जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साहले जानकारी दिनुभयो ।