सुधा देव
भारदह (सप्तरी), वैशाख २६ गते। नेपाल बार एसाेसिएसन राजविराज उच्च अदालत बार एसाेसिएसन एवं सप्तरी जिल्ला अदालत बार एसाेसिएसनले संयुक्त रूपमा ७३ औँ कानुन दिवसको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा काशीराज गङ्गादेवी सम्मान पुरस्कार कार्यक्रमको आयोजना गरेको छ।
उक्त अवसरमा ६ दशकदेखि कानुन व्यावसायीको रूपमा क्रियाशील वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डेलाई सम्मान गरेको छ। उहाँलाई कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत राजविराजका वरिष्ठतम न्यायाधीश वामदेव ज्ञवालीले सम्मान पत्र, दोसल्ला र नगद १५ हजार प्रदान गर्नुभएको थियो।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्व क्याम्पस प्रमुख विष्णु पोखरेलले बुबा काशीराज र आमा गङ्गादेवीको नाममा २०८१ सालमा दुई लाख एक हजारको अक्षयकोष स्थापना गरेर सार्वजनिक सरोकार, नागरिक हक संरक्षण, समाजसेवाको रूपमा काम गर्ने एक जना कानुन व्यवसायलाई पुरस्कार गर्ने घोषणा गरे अनुसार वरिष्ठ अधिवक्ता पाण्डेलाई सम्मानित गरेको एसाेसिएसनका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठतम न्यायाधीश वामदेव ज्ञवालीले कानुन दिवसको महत्त्व रहेको बताउनुभयो। कार्यक्रममा सहभागी कानुन व्यावसायीले कानुन दिवसको अवसरमा शुभकामना दिँदै विधिको शासनलाई उल्लङ्घन गर्ने काम राज्य पक्षबाट हुँदै आएको आरोप लगाउनुभयो।
वरिष्ठ अधिवक्ता सुजितकुमार पोखरेल पुरस्कारको अक्षयकोषमा ५५ हजार ५ सय ५५ रुपियाँ थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।