गुणबहादुर रोका
सुलीकोट, वैशाख २६ गते । गोरखाको अजिरकोट गाउँपालिकाको चनौटे-ढिस्का-भच्चेक सडक निर्माण सुरु भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले अजिरकोट गाउँपालिकाको चनौटेदेखि ढिस्का हुँदै पालिकाको केन्द्र भच्चेक जोड्ने १४.३० किलोमिटर सडक कालोपत्र गर्न लागेको हो ।
सडक निर्माण कार्यको शुक्रबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चनौटेमा शिलन्यास गर्नुभयो । कार्यालयका इञ्जिनियर कपिल काप्रीका अनुसार सडक निर्माणका लागि यही वैशाख २१ गते एम एस खड्का कृष्ण नवकान्तिपुर जेभीसँग ४४ करोड ४६ लाख २४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
वि.स. २०८४ असार २५ गतेसम्म म्याद रहेको ठेक्कामार्फत ११.२ किलोमिटरमा अक्सफाल्ट प्रविधीको कालोपत्र र ३.१ किलोमिटर सडक ढलान गरिने भएको कार्यालयले जनाएको छ । सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, घुम्ती तथा मोड र ग्रेड सुधार गरि ढल ब्यवस्थापनका लागि पक्कि नाली समेत निर्माण हुने इञ्जिनियर काप्रिले बताउनुभयो ।
वि.स. २०६५ मा ट्याक खुलेको यो सडकबाट अजिरकोट गाउँपालिकाको चार वटा वडाका बासिन्दा लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष दिपक देवकोटाले बताउनुु्भयो । आवत जावतका साथै ढुवानी र कृषि तथा पशुुजन्य बस्तु निकासीमा सहज हुने उहाँले बताउनुु्भयो । उच्च पहाडी क्षेत्रमा पर्ने अजिरकोटका भच्चेकबजार, सिसानडाडा, सिरानचोक लगायत पर्यटकीय स्थल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि सहज हुने अपेक्षा गरिएको छ ।
ट्रयाक खुलेको १७ वर्षपछि सडक कालोपत्र गर्ने योजना सुरु भएकामा स्थानीयवासी हर्षित भएका छन् । मुख्यमन्त्री पाण्डेले सडक शिलान्यास गर्दै प्रदेश सरकारले स्थानीय तहका केन्द्र जोड्ने सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो ।
सडक स्तरोन्नतिसँगै ग्रामिण क्षेत्रमा उद्यम, कृषि पशुपालन, पर्यटन विकास गरी रोजगारी सृजना गरी बसाईसराई रोक्न प्रयास गरेको बताउनुभयो ।