• २७ वैशाख २०८२, शनिबार

सरकारमा जान तँछाडमछाड गरेका छैनौंः माओवादी सचिव पौडेल

blog

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानी गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले सरकारमा जाने कुनै कुरा नरहेको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारमा जानका लागि आफूहरूले तँछाडमछाड नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले यो वर्तमान सरकार जनताको निम्ति नभई आफ्ना मान्छेहरूलाई विभिन्न निकायमा व्यवस्थापन गर्न बनेको आरोप लगाउनुभयो ।

उहाँले सत्ता गठबन्धन भित्रै एक मत नरहेको टिप्पणी गर्नुभयो । सचिव पौडेलले नीति तथा कार्यक्रममा सरकारकै रहेकाहरूले एक स्वरले समर्थन जनाउन नसकेको बताउनुभयो । उहाँले विद्युत प्राधिकरणको विषय र गभर्नर नियुक्तिको कुरामा पनि सत्ता गठबन्धनमा रहेकाहरू एक स्वरले बोल्न नसकेको जिकिर गर्नुभयो । 

“अहिले सरकारमा जाने कुरा छैन । सरकारमा जानका लागि हामीले तँछाडमछाड पनि गरेका छैनौं । नीति तथा कार्यक्रम आयो, एक स्वरले उहाँहरूले समर्थन गर्न सक्नुहुन्न । प्राधिकरणको कुरा आयो, एक स्वरले उहाँहरू बोल्न सक्नुहुन्न ।,’’ उहाँले भन्नुभयो, ‘‘गभर्नर नियुक्तिको कुरा आयो, उहाँहरू एक स्वरले बोल्न सक्नुहुन्न । यसले देखाउँछ भने उहाँहरू सरकारको निम्ति सरकार, जनतालाई सरकार होइन, सरकारको निम्ति सरकार र आफ्नो मान्छेहरूलाई सेट गर्नको लागि सरकार बनेको प्रस्ट छ ।” 

उहाँले अहिलेसम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्न नसक्नु दुःख लाग्दो र अपरिपक्व सरकारको चित्रण रहेको जिकिर गर्नुभयो ।