इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २६ गते । पाल्पाको निस्दी गाउँपालिका –४, लामेदमारमा जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिपमा सवार १६ जना मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार अपरान्ह दुर्घटना भएको थियो । घाइते हुनेहरुमा निस्दी गाउँपालिका –४, झ्याल्टुङ्गका ३९ वर्षीय धनसरी बयम्बु, सोही स्थानका ३० वर्षीय पुष्पा राई, उहाँको छोरा तीन वर्षीय अभिसेक राई, नौ वर्षीय साजन राई, निस्दी गाउँपालिका –७ का ४० वर्षीय गुनबहादुर सोमै र विजयनगर गाउँपालिका –१ कपिलवस्तु बस्ने –५३ वर्षीय टेकबहादुर खण्डलुक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेमध्ये बयम्बुको अवस्था गम्भीर रहेको छ । एक जनाको मध्यम र अन्यको चारको अवस्था सामान्य रहेको छ । घाइतेहरुलाई उपचारको लागि अरुणखोला पठाइएको उहाँले बताउनुभयो । उकालोमा सडकमा जिप व्याक भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । जिप सडकबाट २० मिटर तल खसेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।