• ४ चैत २०८२, बुधबार

सल्यानमा वन डढेलो सचेतना सप्ताह सुरु

blog

शारदा नगरपालिका खलङ्गामा आयोजित डढेलो रोकथाम सम्बन्धी कार्यक्रममा सहभागीहरू। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, चैत ४ गते । वन डढेलोको रोकथाम तथा नियन्त्रणका लागि सल्यानमा वन डढेलो सचेतना सप्ताह सुरु गरिएको छ। सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने भएकाले त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष सचेतना सप्ताह सञ्चालन गरिँदै आएको हो।

डिभिजन वन कार्यालय सल्यान का प्रमुख टेकबहादुर रावल का अनुसार सप्ताहभर वन उपभोक्ता समूह, स्थानीय तहका प्रतिनिधि, सुरक्षा निकाय तथा अन्य सरोकारवालालाई सहभागी गराएर डढेलो रोकथाम र नियन्त्रणका उपायबारे छलफल तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ। उहाँका अनुसार ७ गाउँपालिका र ३ नगरपालिकासहित १० स्थानीय तहका सामुदायिक वनका पदाधिकारीहरूलाई अभिमुखीकरण गरिएको छ।

कार्यक्रम अन्तर्गत त्रिवेणी गाउँपालिका को काभ्रामा विद्यार्थीलक्षित वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ। वन डढेलोको जोखिम, यसको असर र नियन्त्रणका उपायबारे युवा पुस्तालाई सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रावलले जानकारी दिनुभयो। त्यसैगरी शारदा नगरपालिका स्तरिय कार्यक्रम सल्यान सदरमुकाम खलङ्गामा र्‍यालीसहित सम्पन्न भएको छ।

डिभिजन वन कार्यालय सल्यान ले जिल्लामा वन डढेलो व्यवस्थापन कार्ययोजनाको मस्यौदा तयार गरिसकेको छ। उक्त कार्ययोजनालाई जिल्ला वन सुरक्षा समितिबाट पारित गरी जिल्ला विपत् व्यवस्थापन समितिमा पेस गर्ने तयारी गरिएको छ।

तथ्याङ्क अनुसार सल्यान जिल्ला वन डढेलोको दृष्टिले उच्च जोखिममा रहेको जिल्ला हो। सन् २०१३ देखि २०२५ सम्म यहाँ १ हजार ३०२ वटा वन डढेलोका घटना भएका छन्, जसले वन क्षेत्र, जैविक विविधता, वन्यजन्तु तथा वातावरणमा ठुलो क्षति पुर्‍याउँदै आएका छन्।

वन डढेलोका घटनामा मानवीय लापरबाही प्रमुख कारण हुने भएकाले स्थानीय समुदायको सक्रियता र सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको ललितजङ्ग खड्काले बताउनुभयो। उहाँका अनुसार जिल्लामा हाल ६२६ सामुदायिक वन, २०३ कबुलियती वन र दुई धार्मिक वन रहेका छन् भने कुल ९३ हजार ६ सय ७० हेक्टर क्षेत्रफल वनले ओगटेको छ।