प्रेमराज सिम्खडा
कालीकोट, चैत ४ गते । कालीकोटको रास्कोट नगरपालिका –१ का एक १३ वर्षीया किशोरी आफन्तबाटै बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेपछि एक जना पक्राउ परेका छन् ।
साथीको घरमा गएका बेला साथीकै बुवाले आफूलाई बलात्कार गरी गर्भवती बनाएको भन्दै किशोरी प्रहरीसमक्ष पुगेकी हुन् । पीडित किशोरी प्रहरीसमक्ष आफै पुगेकी होइनन् । महिनावारी नभएपछि उनको फुपुले सोधीखोजी गर्दा उनी बलात्कृत भएको खुलेपछि घटना प्रहरीसम्म पुगेको हो ।
किशोरीले आफ्नो जाहेरीमा सँगै सुतेका बेला राति १० बजेतिर आफूलाई जबरजस्ती गरेको बताएकी छन् । ‘कराउन खोज्दा मुख थुनेर जबरजस्ती गरे’ किशोरीले भनिन्, ‘घर बाहिर लगेर पाँच सय रुपियाँ पनि दिए । कसैलाई नभन्नु, भनेमा मार्छु भने ।’
१३ वर्षीया बालिकाका अनुसार माघ १४ को बिहान साथी चर्पी गएका बेला पनि जबरजस्ती गरेको बताइन् । सुरुमा माघ १३ गते राति र त्यसपछि १४ गते बिहान आफू बलात्कृत भएको बालिकाको गुनासो छ ।
रास्कोट–१ का ५३ वर्षीय बलबहादुर सार्कीले जबरजस्ती करणी गरेर गर्भवती बनाएको खुलेपछि प्रहरीसम्म घटना पुगेर सार्कीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
जिल्ला कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले गत माघ १३ गते घरमा आएका बेला बालिकालाई ललाइफकाइ बलात्कार गरेर गर्भवती बनाएको जाहेरी परेपछि फागुन २७ मा आरोपितलाई पक्राउ गरिएको बताउनुभयो ।
उहाँका अनुसार बालिकाको बुवाले दोस्रो विवाह गरेर भारतको बेङलुरु गएका छन् । त्यसपछि आमाले पनि दोस्रो बिहे गरेकी रहेछन् । बालिका घरमा हजुरआमासित बस्दै आएकी छन् ।
आरोपित व्यक्तिले पहिलो पटक पाँच सय, दोस्रो पटक पाँच सय र तेस्रो पटक दुई सय रुपियाँ दिएको बालिकाले बयानमा उल्लेख गरेकी छन् । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गणेश ज्ञवालीले ललाइफकाइ करणी गरेको देखिएको बताउनुभयो ।