• ४ चैत २०८२, बुधबार

विपन्न परिवारलाई सुरक्षित आवास

blog

विपन्न परिवारलाई सुरक्षित आवासको प्रमाणपत्र हस्तान्तरण गरिँदै ।

रेखीराम राना

तानसेन, चैत ४ गते । पहिरोले घरवासबिहीन बनेको परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका –४, बौरीडाँडाका –६ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् । 

गत वर्षको वर्षामा पहिरो र वर्षात्ले घरमा क्षति गरेपछि विस्थापित भएका परिवारले सुरक्षित घर पाएका हुन् । पहिरोले विस्थापित परिवारलाई सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा घर बनेपछि हस्तान्तरण गरिएको छ । पहिरोले विस्थापित बनेका परिवारले यस वर्षको वर्षाअघि नै घर पाएपछि खुसी भएका छन् । 

गत वर्षको अविरल वर्षा र पहिरोले घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको थियो । घरमा क्षति पुगेपछि विस्थापित बन्नुभएका पविसरा आले, हुमबहादुर गाहा, तुलबहादुर गाहा, यामबहादुर दर्लामी, यानीसरा गाहा र कोपिला सरा रानाको परिवारले सुरक्षित घर पाउनुभएको हो । 

तीन तहका सरकारको चार लाख अनुदान र घरपरिवारको श्रमदानबाट घर बनेको यामबहादुर दर्लामीले बताउनुभयो । सात महिना छिमेकी र पालमुनि बस्नुभएका परिवारले घर पाएपछि सुरक्षित भएको महशुस गरेको बताएका छन् । 

पहिरोले घर लगेपछि घर बनाउने आर्थिक अवस्था नै थिएन । सरकारले घर बनाउन सहयोग गरेर आफूहरूलाई सुरक्षित बनाएको तुलबहादुर गाहाले बताउनुभयो । आवास हस्तान्तरण गर्नुहुँदै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय सरकार नागरिकको सुख–दुःखमा साथ दिने बताउनुभयो । 

पहिरोले घरबारविहीन हुनुभएका परिवारलाई सुरक्षित गर्ने स्थानीय सरकारको दायित्व हो, उहाँले भन्नुभयो । तिनाउमा पालिकाको आन्तरिक स्रोतबाट पनि थप तीन विपन्न परिवारको घर बनाउने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।