• ३ चैत २०८२, मङ्गलबार

नगर प्रमुख र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा : सेवा करार म्याद थप्न घुस मागेको आरोप

blog

फाइल तस्बिर

काठमाडौँ, चैत ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सेवा करारको म्याद थप गर्ने प्रयोजनका लागि घुस लेनदेन गरेको पुष्टि भएपछि आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्ति अनुसार नगर प्रमुख वादीले विगत आठ वर्षदेखि करारमा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहको म्याद थप गरिदिएबापत एक लाख रुपियाँ घुस लिएको अनुसन्धानबाट खुलेको छ। शाहले नगर प्रमुखको बैँक खातामा उक्त रकम जम्मा गरेको भौचरसहित उजुरी दिएपछि आयोगले अनुसन्धान सुरु गरेको थियो।

नगर प्रमुख वादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले बिगो एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ। साथै, उनी नगर प्रमुखको ओहोदामा रहेकाले ऐनको दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ।

यसैगरी, घुस दिने असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह उपर पनि भ्रष्टाचार निवारण ऐन अनुसार बिगो एक लाख रुपियाँ कायम गरी कैद र जरिवानाको सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो।