• ४ चैत २०८२, बुधबार

हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार

blog

सिमकोट बजारको काठेचुली चोकस्थित धारामा पानी भर्न लाइनमा बसेका महिला । तस्बिर : राजन रावत

हुम्ला, चैत ४ गते । हिमाली जिल्ला हुम्ला जिल्ला को सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव देखिएको छ ।

घरघरमा जडान गरिएका धारामा पानी आउन छाडेपछि स्थानीयवासीले पानी भर्न विभिन्न धारामा लामो लाइन बस्नुपर्ने अवस्था आएको छ ।

स्थानीय ज्ञानु रोकायाले धारामा पानी आउन छाडेपछि दैनिक जीवन कष्टकर बनेको बताउनुभयो । उहाँका अनुसार पानी आउने घरका धारामा अन्य उपभोक्ता पुगेर घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता रहेको छ ।“एक ग्यालिन पानी थाप्न पनि लामो समय कुर्नुपर्छ,” उहाँले भन्नुभयो ।

अर्की स्थानीय सुरिकला रावतका अनुसार पानी आउने धारामा दिनमा एकदेखि डेढ घण्टामात्र पानी आउने भएकाले धेरैजसो उपभोक्ता पानी नपाई खाली फर्किनुपर्ने अवस्था छ ।

उहाँले सरसफाइ त परको कुरा भएको उल्लेख गर्दै खानेपानीको जोहो गर्नसमेत कठिन भएको बताउनुभयो । पानी आउने धारामा रातभर भाँडा राखेर पालो कुर्ने चलन बढेको छ ।

लामो समयदेखि वर्षा र हिमपात नहुँदा पानीका मुहान सुक्दै गएको सिमकोट खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्र रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजारका लागि निर्माण गरिएका चारवटा ट्याङ्कीसमेत भरिन छाडेका छन् । “मुहानबाट आउने पानी उपभोक्ताको मागको आधाभन्दा कम भएकाले समस्या गम्भीर बनेको हो,” उहाँले भन्नुभयो ।

सिमकोटका लागि निर्माण गरिएको वृहत् खानेपानी योजना अलपत्र अवस्थामा रहेकाले पनि समस्या झन् जटिल बनेको स्थानीयवासीको भनाइ छ ।

पानीको अभाव चर्किएपछि मङ्गलबार उपभोक्ता खाली भाँडा लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा समेत बसेका थिए ।