• ३ चैत २०८२, मङ्गलबार

रास्वपा नवनिर्वाचित सांसदको अभिमुखीकरण

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अभिमुखीकरण कार्यक्रममा उद्घाटन मन्तव्य राख्नुहुँदै उपसभापति डा. स्वर्णिम वाग्ले । तस्बिरः केशब गुरुङ

काठमाडौँ, चैत ३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।

दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ।  

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्नुभएको थियो। 

ललितपुरको एक होटलमा सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन् रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर गर्नुभयो। 


उद्घाटन समारोहमा प्रमुख मन्तव्य पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राख्नुभएको छ। उपसभापति डोलप्रसाद अर्यालले उद्घाटन मन्तव्यसँगै महत्त्वपूर्ण निर्देशन दिनुभएको छ। उपसभापति वाग्लेले देशको वर्तमान अवस्था, पार्टीका प्रतिबद्धता, जिम्मेवारी तथा संसदको भूमिकाबारे प्रस्तुति दिँदै हुनुहुन्छ।

पहिलो दिनको अभिमुखीकरणमा पूर्वसचिव सुरेश अधिकारी र पूर्व कानुन सचिव तोयानाथ अधिकारीको  प्रस्तुति रहेको छ। 

अभिमुखीकरणमा रास्वपाका सांसदले अनुभव सुनाउने छन्। अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठलाई अनुभव सुनाउन समय दिइएको छ। 


 तस्बिरः केशब गुरुङ