• ३ चैत २०८२, मङ्गलबार

चैत १५ गतेभित्र एचपिभी खोप अभियान सञ्चालन हुने

blog

एचपिभी खोपसम्बन्धी जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागीहरू।तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत ३ गते ।हिमाली जिल्ला हुम्लामा दशदेखि चौध वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप चैत १५ गतेभित्र लगाइने भएको छ।

देशभर सञ्चालन भएको राष्ट्रिय खोप अभियानका क्रममा छुटेका किशोरीलाई समेट्दै पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो।यसका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरी चैत १५ गतेभित्र जिल्लाका सातवटै गाउँपालिकामा खोप लगाउने निर्णय गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा सोही उमेर समूहका ६८६ जना किशोरीलाई खोप लगाइनेछ। विद्यालय बाहिर रहेका किशोरीलाई समेत कार्यक्रममा समेटिने व्यवस्था गरिएको छ।

गाउँपालिकाअनुसार खोप लगाइने किशोरीको सङ्ख्या खार्पुनाथमा ९५, चङ्खेलीमा ७२, सर्केगार्डमा १२७, नाम्खामा २७, ताँजाकोटमा ९५, सिमकोटमा १६५ र अदानचुलीमा १०५ रहेको छ। नाम्खा गाउँपालिका–६ को हिमालपारीको लिमी क्षेत्रमा भने सो उमेर समूहका किशोरी नरहेको जनाइएको छ।

खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजक तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखको सहभागिता रहेको थियो।