ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत ३ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य खोप्रालेकमा चैत लागेपछि भएको हिमपातले यस क्षेत्रलाई सेताम्मे बनाएको छ। हिमपातपछि मौसम खुलेसँगै खोप्रालेक आसपासका डाँडाकाँडा र धवलागिरि लगायतका हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ।
समुद्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्रालेकबाट धवलागिरि, गुर्जा, चुरेन, निलगिरि र अन्नपूर्ण लगायतका हिमाल आँखैअगाडि देख्न सकिन्छ। फागुनको तेस्रो सातादेखि मौसम प्रतिकूल भई चिसो बढेकोमा सोमबार राति भएको हिमपातपछि मङ्गलबारदेखि मौसम सफा भएको खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाले जानकारी दिनुभयो।
तिलिजाका अनुसार हिमालमा ताजा हिउँ जमेपछि देखिएको सुन्दरताका कारण पर्यटकको आगमन सुरु भएको छ। पर्यटकको सुविधाका लागि स्थानीयवासीले पाउ द्वार पर्यटन सहकारी संस्थामार्फत सामुदायिक होटल सञ्चालन गरेका छन्। ६५ जना पर्यटकलाई वास बस्न सक्ने क्षमता रहेको यस लजमा मौसम खुलेसँगै पर्यटक पुग्न थालेका छन्।
