प्रविधि–सुगमता र सूचना–बाढीसँगै युवामा आलोचनात्मक चेत घट्दै गएको विरोधाभास प्रस्ट देखिन्छ । मनोरञ्जनप्रधान डिजिटल संस्कृतिले विचार निर्माणको गहिराइ सतहमा झारेका बेला समाधान मिडिया–सूचना साक्षरता, तथ्य जाँचको अभ्यास र नीतिस्तरको दीर्घकालीन लगानीमा निहित छ ।
मिडिया तथा सूचना साक्षरतामा काम गर्ने क्रममा र विभिन्न तहका विद्यार्थीसँग नियमित अन्तक्रिया गर्दा बारम्बार एउटै विरोधाभास उभिन्छ, जति सहरी र प्रविधि सुगम परिवेश, त्यति कमजोर आलोचनात्मक चेत । हालै सम्पन्न निर्वाचनको रुझानलाई विद्यार्थीसँग सँगै बसेर नापजाँच गर्दा पनि यही निष्कर्ष थप स्पष्ट भयो । प्रविधिमाथिको दक्षता बढ्दै जाँदा आलोचनात्मक चेत पनि स्वतः परिपक्व हुन्छ भन्ने सहज मान्यता व्यवहारमा उल्टो देखिन थालेको छ । यो केवल निजी अनुमान होइन; विगतमा गरिएको अध्ययन, कक्षा अनुभव र अनुसन्धान पर्यवेक्षणले पनि यही तस्बिर चित्रित गर्छन् । राजधानीकेन्द्रित, महँगा कलेजमा अध्ययन गर्ने र स्रोतसाधनमा सहज पहुँच भएका युवामा कम्प्युटर, इन्टरनेट र एप्लिकेसन चलाउने व्यावहारिक सिप प्रशंसनीय भेटिन्छ तर प्रविधिद्वारा आउने सूचनालाई किञ्चित दुरीबाट हेरिने, स्रोत समालोचनासहित नापजाँच गरिने, एजेन्डा पहिचानसहित विश्लेषण गरिने क्षमतामा भने कमी देखिन्छ । समस्या प्रविधि आफैँमा होइन; त्यसमार्फत बग्ने सूचनाको चरित्र बुझ्न नसक्नु, सत्य असत्य छुट्याउन नसक्नु र प्रमाणमा आधारित तर्कबाट निष्कर्षमा पुग्न नसक्नुमा छ ।
आलोचनात्मक चेतको उल्टो सम्बन्ध
हामी सहजै विश्वास गर्छौं कि प्रविधि सुगमता वा सहरी पहुँचको विस्तारले स्वचालित रूपमा चेतना बढाउँछ । यथार्थमा भने सहरी युवाको दैनिक डिजिटल बानी, तिनले उपभोग गर्ने सामग्रीको प्रकृति र प्लेटफर्म प्रोत्साहन सञ्जालले युवा भावनालाई निरन्तर सक्रिय त बनाउँछ तर एल्गोरिदमले दिने निरन्तरको गहिरो अनि एकैखाले सामग्री उपभोगले विवेकलाई शिथिल पार्छ । छोटा भिडियो, रिल, मिम र ट्रोल संस्कृतिले सूचनालाई कथाका रूपमा चट्पट पारेर प्रस्तुत गर्छ तर त्यसको प्रसङ्ग, सन्दर्भ, वक्ताका स्वार्थ र अन्तिम निहितार्थप्रतिको ध्यान भने हटाइदिन्छ । एल्गोरिदमले ‘इन्गेजमेन्ट’ अर्थात् क्लिक, कमेन्ट, सेयर र भ्यु टाइमलाई प्राथमिकता दिन्छ । यसले कुनै सामग्रीको सत्यता त्यसो मूल्यमा होइन, अपितु त्यसले कत्तिको भावनात्मक प्रतिक्रिया उब्जाउँछ भन्ने आधारमा फैलावट तय गर्छ । यसरी अनलाइनको तीव्र बिथोलिने वातावरणमा गहिरो पढाइ, सन्दर्भ बुझाइ र वैकल्पिक व्याख्या खोज्ने अभ्यास क्रमशः कमजोर हुन जान्छ । मान्छे सामाजिक प्राणी भएकाले हामी सबैलाई समूह मान्यता र ‘ट्रेन्डिङ’ कुरामा सहभागी भएको अनुभूति मन पर्छ । यही मनोवैज्ञानिक चाहनाले ‘देखिएकोलाई सत्य’ र ‘दोहो¥याइएकोलाई प्रमाण’ ठान्ने प्रवृत्ति बढाउँछ, जसको दीर्घकालीन असर आलोचनात्मक चेतमा प्रत्यक्ष देखिन्छ ।
आलोचनात्मक चेत के हो ?
सार्वजनिक भाषा र बुझाइमा आलोचनात्मक चेतलाई प्रायः विरोध गर्ने बानी, नकारात्मक सोच वा राजनीतिक झुकावसँग जोडिन्छ तर यसको वास्तविक अर्थ त्यसभन्दा गहिरो र व्यवस्थित छ । आलोचनात्मक चेत भनेको कुनै दाबी वा सूचना अन्धाधुन्ध नमान्ने क्षमता हो, जसले स्रोत, स्वार्थ, भाषा, तथ्य र सम्भावित प्रभावलाई व्यवस्थित तरिकाले परीक्षण गर्छ । यो सिपले वैकल्पिक व्याख्या सम्भावित छ कि छैन, प्रस्तुत प्रमाण पर्याप्त छ कि छैन, सन्दर्भ हटाएर देखाइएको त होइन र आफ्नै पूर्वाग्रहले निष्कर्षलाई तानेको त छैन भन्ने जाँच गर्छ । डिजिटल बाढीमा जहाँ अर्धसत्य, सन्दर्भविहीन फ्रेमिङ र एआई निर्मित वा हेरफेर गरिएको सामग्री छिटो छिटो फैलिन्छ, त्यहाँ आलोचनात्मक चेत नागरिक स्वतन्त्रताको मेरुदण्ड बन्छ । यसबिना स्वतन्त्र व्यक्ति स्वतन्त्र उपभोक्ता रहँदैन; ऊ सरलै डिजिटल भिडको लयमा बहन सक्छ । बहस र संवादको संस्कृतिमा पनि आलोचनात्मक चेत निर्णायक छ किनकि यो सिपले मतलाई तथ्यसँग छुटाएर प्रस्तुत गर्ने, असहमतिलाई सुसंस्कृत तरिकाले सम्बोधन गर्ने र सहमतिको आधारलाई प्रमाणमा टेकाउने काम गर्छ ।
आज विचार निर्माणको प्रमुख महामार्ग छोटा भिडियो, रिल, मिम, ट्रोल र ब्लग बनेका छन् । यस्तो सामग्री सहजै पच्ने हुन्छ, हँसिलो वा उत्तेजक आवरणमा आउँछ र दर्शकलाई तुरुन्त भावनात्मक प्रतिक्रिया दिन उक्साउँछ । त्यहाँ लामो लेख, गहिरो तर्क वा विस्तृत तथ्य तालिकाको ठाउँ सानो हुन्छ । परिणामतः कथाले सन्दर्भको ऋण तिर्दैन र दर्शकले आलोचनात्मक प्रश्न सोध्नुअघि नै सन्देशले प्रभाव पारिसकेको हुन्छ । इन्फ्लुएन्सर–संस्कृतिले यो प्रक्रियालाई थप तीव्र बनाउँछ । व्यक्तिको विश्वसनीयता प्रायः लोकप्रियता, आकर्षक प्रस्तुति कौशल र सामुदायिक अनुभूतिका आधारमा तोकिन्छ, कामको प्रमाण र सत्यापनयोग्य उपलब्धि दोस्रो कोठामा धकेलिन्छ । यसरी मनोरञ्जनले मन जित्ने क्रममा विचारको परीक्षण सुस्त हुन्छ र अन्ततः नीति, नेतृत्व र सामाजिक धारणा जस्ता गम्भीर विषय पनि प्रचारात्मक बन्न थाल्छ या भनौँ प्रचार सामग्री मात्रले चलाउन थाल्छ । युवा आफूलाई मनोरञ्जन उपभोग गरिरहे झैँ ठान्छन् तर वास्तवमा उनीहरूले विचार बीजग्रहण गरिरहेका हुन्छन्, जसको प्रभाव दीर्घकालीन रूपले उनीहरूको निर्णय क्षमतामा प्रकट हुन्छ ।
मिडिया–सूचना साक्षरता
यही खाडलमा मिडिया–सूचना साक्षरताको आवश्यकता सशक्त रूपमा उभिन्छ । हाम्रो पाठ्यक्रमले उपकरण, सफ्टवेयर र एप चलाउन सिकाउने त हो तर सूचना चलाउन सिकाउँदैन । सूचना चलाउने भन्नाले स्रोत समालोचना, तथ्य मत छुट्याउने, प्रमाण परीक्षण, सन्दर्भ पडताल, नैतिक उत्पादन र शिष्ट सहभागिता समेटिन्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म मिडिया सूचना साक्षरतालाई तत्व सिपका रूपमा स्थापित गर्न सकेमा मिथ्या सामग्री, हेरफेर गरिएका भिडियो, घृणाजन्य अभिव्यक्ति र डिजिटल ध्रुवीकरणसँग समाजको प्रतिरोध क्षमता उच्च हुन्छ । यस्तो साक्षरताले युवालाई केवल उपकरणको दक्ष प्रयोगकर्ता मात्र होइन, सचेत उपभोक्ता, जिम्मेवार निर्माता र विवेकपूर्ण नागरिक बनाउँछ । लोकतन्त्रमा सहमतिको निर्माण तथ्यमा टेकेर हुनुपर्ने भएकाले साक्षरताको निवेश अन्ततः लोकतान्त्रिक परिपक्वताको निवेश हो ।
आजका युवापुस्तालाई पुरानो शैलीका लामो भाषण र टिपोट श्रुतिलेखनले आकर्षित गर्दैन । उनीहरू दृश्यप्रधान, छोटो तर प्रभावकारी तरिका मन पराउँछन् र अन्तर्क्रियात्मक अनुभव खोज्छन् । त्यसैले आलोचनात्मक चेत र मिडिया सूचना साक्षरता सिकाउन पनि उनीहरूकै प्लेटफर्म र भाषामा जान आवश्यक छ । पोडकास्टले गहिरा विषयलाई सरल तरिकाले खोल्न सक्छ, छोटा तथ्य भिडियोले एक अवधारणालाई चुट्कैमा बुझाउन सक्छ, इन्फोग्राफिक्सले जटिल डाटालाई दृश्यमा रूपान्तरण गर्न सक्छ र गेमिफाई गरेका अभ्यासले स्रोत समालोचना, तथ्यजाँच र सन्दर्भ–विश्लेषणलाई रमाइलो चुनौतीमा परिणत गर्न सक्छ । कथा कथनले सिकाइलाई जीवनको अनुभवसँग जोडेर दीर्घकालीन स्मरणमा टिकाउँछ । युवालाई दोष दिने भाषाभन्दा उनीहरूको डिजिटल स्पेसमै पुगेर सहयात्री बनाउने दृष्टिकोण प्रभावकारी हुन्छ । जबसम्म हामी उनीहरूको भाषा बोल्दैनौँ र उनीहरूको ध्यानको संरचना बुझ्दैनौँ, तबसम्म हाम्रो सन्देश उनीहरूको मस्तिष्कसम्म पुग्दैन ।
हालै सम्पन्न निर्वाचनको मतले नेपाली राजनीतिक समाजमा परम्परागत सोच, भूमिका र निकास भत्किएको सङ्केत दियो । पुराना शक्तिले डिजिटल पुस्ताको मनोविज्ञान, असन्तुष्टि र मिडिया उपभोग ठ्याक्कै नबुझेका कारण उनीहरू मतपेटिकाबाट पर धकेलिएका छन् । यो पतन लोकतन्त्रको कमजोरी होइन; शान्तिपूर्ण तरिकाले मतपेटिकाबाट परिवर्तन सम्भव भएको यथार्थ नै परिपक्वताको सूचक हो । लोकतान्त्रिक चक्रमा मतदाता सक्रिय रूपमा मूल्याङ्कन गर्छ, नयाँलाई मौका दिन्छ र विफल हुँदा फेरि बदल्न सक्षम हुन्छ । अवसरसँगै जोखिम पनि छ । मत भावनाको तीव्र–प्रचार लगातार चलिरह्यो भने त्यसबाट नीति स्थायित्व कमजोर हुन्छ र शासन गुणस्तरमा अस्थिरता थपिन्छ । यही कारण लोकतन्त्र बलियो बनाउन विवेकपूर्ण नागरिकको निर्माण अपरिहार्य छ, जसको आधार आलोचनात्मक चेत र मिडिया सूचना साक्षरता नै हो ।
शिक्षा, प्लेटफर्म र राज्य
डिजिटल भिडले कसैलाई एक रातमा ‘हिरो’ बनाउँछ र भोलिपल्टै त्यही भिडले ‘भिलेन’ पनि बनाइदिन्छ । सामाजिक प्लेटफर्मको लयमा लोकप्रियता क्षणिक उचाइमा पुग्न सक्छ तर स्थायी नेतृत्व र दिगो नीति त्यसरी बन्दैन । नयाँ पुस्ताका राजनीतिक नेतृत्वका लागि आवश्यक पाठ स्पष्ट छ, सतही पपुलिजम र ट्रेन्डकेन्द्रित सन्देशले प्रारम्भिक समर्थन त आर्जन गर्छ तर दीर्घकालीन शासनका लागि प्रमाणमा आधारित सञ्चार, तथ्यमा टेकेको निर्णय र सत्य परीक्षणसहितको एजेन्डा चाहिन्छ । युवामा तथ्यजाँच गर्ने बानी, प्रश्न सोध्ने संस्कार र डिजिटल नागरिकता विकास गराउन राज्यस्तरबाट लगानी नगरी टिकाउ परिवर्तन सम्भव हुँदैन । नयाँ शक्तिले पनि युवाको आलोचनात्मक चेतको अभावलाई मात्र भोट इन्जिन बनाउन खोजे, अर्को चक्रमा उनीहरू पनि मतपेटिकाबाट बढारिन बेर लाग्दैन । लोकप्रियता लोकतान्त्रिक वैधताका लागि पर्याप्त सर्त होइन; उसलाई आधार दिने विवेक र जिम्मेवारीको संरचना निर्माण गरिनु पर्छ ।
नीतिमा पहिलो प्राथमिकता विद्यालयस्तरमै मिडिया सूचना साक्षरतालाई अनिवार्य बनाउनु हो । कक्षा ७ देखिको पाठ्यक्रममा तथ्य र मत छुट्याउने अभ्यास, स्रोत समालोचनाका अभ्यास, सन्दर्भ विश्लेषणका केस स्टडी, डिपफेक र हेरफेर गरिएको सामग्री पहिचान गर्ने उपाय र घृणाजन्य अभिव्यक्तिप्रति संवेदनशीलता समावेश गर्न सकिन्छ । शिक्षकका लागि वार्षिक अभिमुखीकरण, प्रशिक्षण र बहुभाषिक सामग्री बैङ्क विकास गर्न सके त्यसको प्रभाव शिक्षण कक्षमै देखिन्छ । दोस्रो तहमा विश्वविद्यालयका सबै सङ्कायका पहिलो वर्षमा आलोचनात्मक सोच र डिजिटल नागरिकताकेन्द्रित छोटो तर गहिरो मूल पाठ्यक्रम आवश्यक छ । केस स्टडी, बहस र सिमुलेसनमार्फत विद्यार्थीले वास्तविक जीवनका सूचना समस्यासँग जुध्ने सिप सिक्छन् । तेस्रो तहमा सार्वजनिक–निजी सहकार्यद्वारा युवामुखी अभियान चलाउनु पर्छ । दूरसञ्चार कम्पनी, टेक प्लेटफर्म र मिडियासँग साझेदारी गरेर झुटा सूचनाविरुद्ध बहुभाषिक व्याख्यात्मक कार्यक्रम, तत्काल प्रतिक्रिया संयन्त्र र सिर्जनशील समुदायलाई तथ्यमा आधारित सामग्री उत्पादनतर्फ प्रोत्साहन दिने कार्यव्रmम प्रभावकारी हुन्छन् । चौथो तहमा राज्यस्तरका डिजिटल सूचना केन्द्र स्थापनाले नागरिकलाई विश्वसनीय, सजिलो र केन्द्रीकृत तथ्य–जाँचको पहुँच दिन्छ । स्थानीय सरकार र पुस्तकालयलाई डिजिटल डेस्क, सामुदायिक पोडकास्ट र नियमित कार्यशालाद्वारा पुनर्जीवित गर्न सकिन्छ, जसले साक्षरतालाई सहरको केन्द्रबाट टाढासम्म फैलाउँछ । पाँचौँ तहमा प्लेटफर्म पारदर्शिता र राजनीतिक विज्ञापनको स्पष्ट पहिचान अनिवार्य बनाउनु जरुरी छ ताकि नागरिकले सामग्रीको आशय बुझेर उपभोग गर्न सकून् । अन्तिम तहमा युवाकेन्द्रित सिर्जनशील परियोजनामा अनुदान र इन्क्युबेसनमार्फत तथ्यमा आधारित छोटा भिडियो, इन्फोग्राफिक्स र डाटा कथन जस्ता स्वरूपलाई उकास्नु आवश्यक छ । शिक्षा मूल्याङ्कनमा पनि सुधार गरेर स्मरणमा आधारित परीक्षाबाट समस्या समाधान, स्रोत विश्लेषण, प्रस्तुति र बहस जस्ता ‘उच्च–कोटिका सिप’ तर्फ मोडिनुपर्ने समय आइसकेको छ ।
नीति र संरचना परिवर्तनसँगै दैनिक बानीमा साना तर प्रभावकारी प्रक्रिया समावेश हुनु पर्छ । छोटा भिडियो वा भावनात्मक पोस्ट हेर्दा केही सेकेन्ड रोकिने, दाबी तथ्य हो कि मत भनेर सोध्ने, लाभहानि कसलाई भन्नेबारे सोच्ने र वैकल्पिक व्याख्याको सम्भावना खोज्ने आदतले विवेकलाई निरन्तर सक्रिय राख्छ । यस्तै कुनै फोटो वा भिडियो अस्वाभाविक लाग्दा स्रोतको विश्वसनीयता, मिति र सन्दर्भ, दृश्य सङ्केत, आवाज ओठको तालमेल, कम्प्रेसन वा रिजोल्युसनका कारण र अन्य विश्वसनीय माध्यममा क्रस–भेरिफिकेसन जस्ता आधारभूत जाँच गर्नु उपयोगी हुन्छ । हप्तामा एक पटक आफ्नो फिड हाइजिनसम्बन्धी अभ्यास गर्दै विश्वसनीय संस्थाका सामग्रीलाई प्राथमिकता दिने र विपरीत दृष्टिकोणका विश्वसनीय स्रोतहरू पनि अनुसरण गर्ने बानीले एल्गोरिद्मका फोका फोड्न मद्दत गर्छ । यी ससाना अभ्यासले दीर्घकालीन रूपमा आलोचनात्मक चेतलाई अभ्यासमा उभ्याउँछन् र नागरिक विवेकलाई सुदृढ बनाउँछन् ।
लोकतन्त्रको स्थायित्व मतदाताको भावनात्मक ऊर्जा मात्रबाट हुँदैन; यसका लागि विवेकपूर्ण सहमति र तथ्यमा टेकेको सार्वजनिक वार्ता चाहिन्छ । भावना राजनीतिक सहभागिताको इन्धन हो तर नीति गुणस्तर र शासन स्थायित्वका लागि तर्क र प्रमाणले आधार दिनु पर्छ । यस्ता आधार निर्माण आलोचनात्मक चेत र मिडिया सूचना साक्षरताबाट सम्भव हुन्छ । नागरिकले आफूले पाउने र दिने सूचनाको गुणस्तरबारे सचेत हुँदै गए लोकतन्त्रमा ‘भिडको लय’ होइन, ‘विवेकको लय’ प्रधान बन्छ । यही लयले दीर्घकालीन सुधार सम्भव बनाउँछ किनकि यसले लोकप्रियताभन्दा जिम्मेवारी र तीव्र प्रचारभन्दा प्रमाणलाई पुरस्कृत गर्छ ।
नेपालका युवामा ऊर्जा, सिर्जनशीलता र परिवर्तनको इच्छा प्रशस्त छ । दोष युवामा होइन; उनीहरूले उपभोग गर्ने सूचनाको चरित्र, शिक्षा संरचनाले छोडेको खाली ठाउँ र प्लेटफर्मले निर्माण गरेको उत्तेजनात्मक वातावरणमा छ । हामीले मिडिया सूचना साक्षरता, तथ्य जाँच, आलोचनात्मक चेत र डिजिटल नागरिकतालाई राष्ट्रिय प्राथमिकतामा राखेर विद्यालय, विश्वविद्यालय र समुदायमा समान रूपमा प्रसारित गर्न सक्यौँ भने आज देखिएको अराजक र तीव्र प्रचार (हाइप) केन्द्रित प्रवृत्ति क्रमशः कम हुने छ । लोकतन्त्रले फेरि तथ्यमा आधारित सहमतिको बाटो समाउँछ, जहाँ मत केवल तात्कालिक क्रोध वा उल्लासले होइन, प्रमाण र दिगोपनाले निर्देशित हुन्छ । भोलिको नेपाल प्रविधिसम्पन्न मात्र भएर पुग्दैन; प्रविधि बुझ्ने र सूचना निफन्ने नागरिकले डो¥याएको हुनु पर्छ । मनोरञ्जनले बनाएको ‘हिरो’ लाई त्यही मिडियाले ‘भिलेन’ बनाउन एक रात पनि नलगाउन सक्छ तर आलोचनात्मक चेतको कवच लगाएका नागरिकलाई तुइँ न ताँइका हाइप र भावनात्मक उक्साहटले धेरै समयसम्म दिशाहीन बनाइरहन सक्दैन । यही कारण आजको सबैभन्दा आवश्यक लगानी विद्यालयको कक्षादेखि सामुदायिक क्षेत्र र डिजिटल प्लेटफर्मसम्म, विचारको तहमा, विवेकको रक्षाका लागि हुनु पर्छ ।