• ३ चैत २०८२, मङ्गलबार

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

blog

फाइल तस्बिर ।

दुबई, चैत २ गते । इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ।

मारिनेहरूमा २ जना सैनिक र ५ जना सर्वसाधारण रहेका छन् भने विभिन्न देशका १४५ जना घाइते भएका छन्। मन्त्रालयका अनुसार सो अवधिमा यूएई सुरक्षाबलले इरानबाट प्रक्षेपण गरिएका ३०४ वटा ब्यालिस्टिक मिसाइल, १५ वटा क्रुज मिसाइल र एक हजार ६२७ वटा ड्रोन अवरोध गरी नष्ट गरेका छन्। 

सोमबार भएको आक्रमणमा ६ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन प्रयोग गरिएको थियो, जसले अबुधाबी, दुबई, फुजैराह र उम्म अल क्वैन क्षेत्रमा क्षति पुर्‍याएको बताइएको छ। अबुधाबीको अल बह्याह क्षेत्रमा मिसाइल लागेर एक नागरिक सवारी साधन नष्ट हुँदा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण हुँदा इन्धन ट्याङ्कमा आगलागी भएको र केही समय उडान सेवा रोकिएको थियो। फुजैराह तेल उद्योग क्षेत्रमा पनि आगलागी भएको भएपनि त्यहाँ कुनै मानवीय क्षति भएको छैन। यूएई रक्षा मन्त्रालयले सम्भावित थप आक्रमणलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको जनाएको छ। रासस