• ७ जेठ २०८१, सोमबार

यातायात सहजताका लागि दसैँअघि नै सडक मर्मत

blog

काठमाडौं, असोज १० गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले वर्षाले बिग्रेको बाटोलाई मर्मत सम्भार गर्ने जनाएको छ । विभागले दसैँ तिहारजस्ता चाडपर्वहरू नजिकिएसँगै हरेक वर्ष सडकमा परेका खाल्डाखुल्डी र वर्षका कारण बिग्रेको  सडक मर्मत गर्दै आएको छ । 

सोही प्रक्रिया बमोजिम विभागले यस वर्ष पनि सडकको मर्मत सम्भार गर्ने योजना बनाएको बताएको छ । तर पानी पर्ने क्रम अझै नरोकिएकाले काम सुरु गर्न भने नसकिएको विभागका यान्त्रिक महाशाखाका उपमहानिर्देशक भुवन अधिकारीले बताउनुभयो । पानी पर्न रोकिने बित्तिकै सडकको मर्मत सम्भार कार्य तत्काल थालिने उहाँको भनाइ छ । 

केही कामहरू विभाग आफैँले उपकरणहरूको प्रयोगमार्फत गर्ने र केही जटिल खालका सडकहरू भने ठेक्का लगाएर मात्र काम गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विभागले वर्षौँदेखि दसैँ,तिहार जस्ता चाडपर्व नजिकिएसँगै वर्षाले बिगारेका सडकहरू मर्मत गर्छौ । अहिले पनि मर्मत गर्ने योजना बनाएका छौँ। अहिले मनसुनको क्रम नै रहेकाले पानी पर्न रोकिने बित्तिकै काम सुरु गछौँ ।” उहाँका अनुसार विभागका २४२ वटा यान्त्रिक उपकरणहरू तयारी अवस्थामा रहेका छन् । 

विभागले चार वटा काठमाडौँ, दमक, पोखरा र सुर्खेत सङ्घीय सडक सुपरिवेक्षण अनुगमन कार्यालयलाई सडक मर्मत सम्भारका लागि जिम्मा दिएको छ  । सङ्घीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका कार्यालय प्रमुख अर्जुनप्रसाद अर्यालका अनुसार दसैँका लागि सडकका खाल्डाखुल्डी पुर्ने र मर्मत सम्भार गर्ने काम पानी पर्न रोकिएसँगै सुरु हुनेछ । 

अहिले केही कामहरू जारी रहे पनि पानी पर्ने काम नरोकिएकाले मर्मत सम्भारमा कठिनाइ भएको छ । चाडपर्वमा यात्रुहरूलाई यात्रा गर्नको लागि सहजता प्रदान होस् भने। प्रत्येक वर्ष नै यो कार्य गर्दै आएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “वर्षाले बिगारेका सडकहरूलाई चाडपर्वमा मर्मत सम्भार गर्ने काम बर्सेनि गरिँदै आएको छ । यस वर्ष पनि निरन्तरता दिन्छौँ । वर्षा रोकिनेबित्तिकै सडक मर्मतको काम थाल्छौँ ।” सडक मर्मतको लागि बजेट अभाव भने नरहेको उहाँले सुनाउनुभयो । 

यस्तैै सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका कार्यालय प्रमुख प्रेमप्रकाश खत्रीका अनुसार सडकको मर्मतको लागि योजना बनिसकेको र केही दिनमै सुरु हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चाडपर्वलक्षित सडक मर्मतको काम सुरु गर्नका लागि योजना बनाएका छौँ, केही दिनमा नै सुरु गर्छौँ ।” 

वर्षाको समय अझै नसकिएकाले तत्काललाई काम थाल्न नसकिएको उहाँको भनाइ छ । ठुलो क्षति पुगेका सडकहरू भने तत्काल मर्मत गर्न भने नसकिने उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।