अर्जुन काफ्ले
स्याङ्जा, असोज ११ गते । काली गण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाइ बहुउद्देश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ । स्थानीय आशिष न्यौपानेले सञ्चालन गरेको फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज रहेकामा १९० वटालाई चितुवाले मारेको हो ।
वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेलेको डेढ बर्सबाट कालिज पाल्नु भएको थियो । बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको हो । चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाडेर मारेको भेटिएको न्यौपानेले बताउनुभयो ।
बिहान फार्ममा कालिजलाई दाना खुवाउन श्रीमतीसहित पुग्नुभएका न्यौपानेले कालिज मरेका र घाइते कालिज देखेको र नजिकै झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन भागेको बताउनुभयो । चार रोपनी क्षेत्रफलमा फैलिएको न्यौपानेले फार्ममा हालसम्म १७ लाख रुपियाँ लगानी गर्नु भएको छ । यहाँ कालिज एक गोटाको दुई हजार पाँच सय र अण्डा ५० देखि एक सय रुपियाँमा बिक्री हुँदै आएको थियो ।
कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलो भएकाले माग धेरै छ ।