सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, पुस ८ गते । चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सदरमुकाम चौतारा बजारको टुँडिखेलमा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य पुनः रोकिने अवस्थामा पुगेको छ ।
निर्माण कम्पनीले तीन करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि उक्त रङ्गशालाको काम रोकिने स्थितिमा पुगेको हो । २०७६ सालदेखि सुनकोशी गिरी जेभी कन्स्ट्रक्सन प्रालि सातदोबाटो ललितपुरले तोकिएको समयमा रङ्गशालाको काम पूरा नगरेपछि मुख्य कम्पनी सुनकोशी कन्स्ट्रक्सन नेपालले २०८१ जेठ महिनामा ‘टेकओभर’ गरेको थियो । मन्त्रीपरिषद्को १३ औँ संशोधनपछि म्याद थप नहुँदा असोजबाट रङ्गशालाको सम्पूर्ण काम रोकिएको थियो तर सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनमार्फत विशेष व्यवस्था गरी म्याद थप गरेर सो रङ्गशालाको काम पुन सुचारु गरिएको थियो ।
रङ्गशालाको काम पुनः सुचारु भएर ६० प्रतिशत सम्पन्न गरिए पनि सुनकोशी कन्स्ट्रक्सन निर्माण कम्पनीले तीन करोड भुक्तानी नपाउँदा काम रोकिन लागेको सो कम्पनीका प्रतिनिधि जेवी लिम्बूले बताउनुभयो । उहाँका अनुसार ६० प्रतिशत काम सम्पन्न भएपछि हालसम्म एक किस्ता रकम पाइएको छैन । सरकारी तवरबाट बिल भुक्तानी नहुँदा आर्थिक अभावकै कारण रङ्गशालाको काम बन्द गर्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो तर सामाजिक विकास कार्यालय धुलिखेलका प्राविधिक कुसुम भट्टराईले बागमती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयबाट सबै प्रक्रिया पूरा भएर आउन लागेकाले चाँडै बिल अनुसारको काम हेरेर रकम भुक्तानी हुने बताउनुभएको छ ।
पाँच वर्षमा सो रङ्गशालाको काम बल्ल ६० प्रतिशत सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको ४१ करोड ६२ लाख २७ हजार लागतमा चौतारा सदरमुकाममा मिनी रङ्गशाला निर्माण भइरहेको छ । २०८३ असार मसान्तसम्म रङ्गशालाको काम सम्पन्न गर्नुपर्ने छ तर भुक्तानी रोकिएपछि निर्माण पूरा नहुने देखिएको छ । छ हजार दर्शक अट्ने क्षमताको सो रङ्गशालाको काममा दैनिक ८० जना मजदुर खटिरहेका छन् । बाहिरी प्यारापिट अन्तिम चरणमा पुगेको छ । प्यारापिटभित्र रङरोगन, सजावट, विद्युत् जडानलगायतका काम भइरहेका छन् । खेल मैदान, लाइट, पार्किङलगायतका काम बाँकी छन् । सरकारले समयमा नै कामका आधारमा निर्माण कम्पनीलाई भुक्तानी दिएमा निर्धारित समयमा नै रङ्गशालाको सबै काम पूरा हुने सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले जानकारी दिनुभयो । सरकारले छिट्टै भुक्तानी दिएर खेलकुदका कार्यक्रम गर्ने अवसर दिलाउन उहाँले सुझाउनुभयो । उक्त रङ्गशाला निर्माणमा ढिलाइ हुँदा सो टुँडिखेलमा खेलकुदका कार्यक्रम हुन पाएको छैन ।