जुम्ला समाचारदाता
जुम्ला, पुस ८ गते । जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछालबाडा र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । उक्त ठाउँमा टेलिफोनको टावर बने पनि फोन नलाग्दा स्थानीवासी सञ्चार सुविधाबाट वञ्चित रहनु परेको छ ।
सो क्षेत्रमा सरकारले सञ्चार सुविधा पु¥याउने आश्वासन दिएको बर्सौं भइसके पनि आजसम्म समस्या समाधान भएको छैन । नेपाल टेलिकमले त्यस क्षेत्रको थलाले क्षेत्रमा टावर निर्माण गरे पनि इमिल्चामा नेटवर्क टिप्न नसक्दा नागरिकले सेवा पाउन सकेका छैनन् । तातोपानी–८ का वडाध्यक्ष नरबहादुर रावतका अनुसार दुई वर्षअघि टावर बने पनि यहाँका स्थानीयले सेवा उपभोग गर्न पाएका छैनन् ।
उहाँले नेपाल टेलिकमलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नगरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “टावर राखियो तर नेटवर्क टिप्दैन, इमिल्चामा अर्को टावर आवश्यक छ । स्थानीयले धेरै पटक माग गरिसके पनि टेलिकमबाट कुनै प्रतिक्रिया आएको छैन ।’’
उहाँका अनुसार त्यस क्षेत्रका नागरिक पूर्ण रूपमा सञ्चार सुविधाविहीन छन् । त्यहाँ बिरामी पर्दा समस्या छ । विद्यार्थी बाहिर गएका छन् । सबैले सञ्चार सुविधाको अभावमा दैनिक जीवनमै कठिनाइ बेहोर्दै आएका छन् । सञ्चार नहुँदा आपत्विपत्मा चिकित्सक वा सुरक्षा निकायसँग सम्पर्क गर्न नसक्ने अवस्थाले जनजीवन थप सङ्कटपूर्ण बनेको उहाँले बताउनुभयो । यता नेपाल टेलिकम जुम्लाका प्रमुख पारस पुजाराले सो विषयमा जानकारी नभएको बताउनुयो । आफू भर्खरै जुम्ला आएकाले यसको विस्तृत जानकारी लिएर समस्या समाधान गर्न लाग्ने उहाँले जनाउनुभयो ।