• १९ असार २०८१, बुधबार

दुधको खपत बढाउन जोड

blog

काठमाडौँ, असोज १० गते । ‘नियमित दुध सेवन, बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौँ ‘विश्व स्कुल दुध दिवस’ कविता प्रतियोगिता गराएर मनाइएको छ ।  पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध सहकारी सङ्घ, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) लगायत संस्थाको सहकार्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार दुध दिवसका अवसरमा विभिन्न १८ वटा विद्यालयका विद्यार्थीबिच कविता प्रतियोगिता गराएको छ । 

कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले देश दुधमा आत्मनिर्भरतर्फ अगाडि बढिरहेको हुनाले अन्य खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । 

कृषि क्षेत्रमा दुग्ध क्षेत्रको ठुलो भूमिका रहेको बताउँदै उहाँले यो क्षेत्रको विकासका लागि हरेक क्षेत्र लाग्नुपर्ने बताउनुभयो । दुध एक पौष्टिक आहार भएकाले बालबालिकाको खानामा दुधको सेवन अनिवार्य गर्नुपर्ने बताउनुभयो । 

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । दुध जतिको पौष्टिक तत्व अन्य खाद्यान्नमा एकसाथ नपाउने भएकाले विद्यार्थीदेखि अन्यले पनि दुध सेवन अनिवार्य गर्नुपर्ने बताउँदै उहाँले खास गरी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयहरूले दुध सेवन कार्यक्रम गरिरहनुपर्ने सुझाव दिनुभयो । 

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले दुधजन्य पदार्थमा नेपाल लगभग आत्मनिर्भर नै रहेको दाबी गर्दै छुर्पी, घिउलगायत अन्य दुग्धजन्य पदार्थ नेपालले निर्यातसमेत गरिरहेको बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सूर्यप्रसाद पौडेलले दुग्ध क्षेत्र एक संवेदनशील क्षेत्र हो, यसको हितका लागि मन्त्रालय सधैँ सकारात्मक रहेको धारणा राख्नुभयो । उहाँले नेपालमा प्रतिव्यक्ति दुध खपत एकदमै कम रहेको बताउँदै प्रतिव्यक्ति दुध खपत बढाउन जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले दुधको खपत बढाउनका लागि सामाजिक संरचनामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

तथ्याङ्क अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दुध सेवन गर्नुपर्नेमा नेपालमा हाल ८७ लिटर मात्र सेवन हुने गरेको र अब यसलाई बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

डिडिसीका महाप्रबन्धक सञ्जीव झाले दुग्ध क्षेत्रको विकासमा डिडिसी सदैव तयार रहेको धारणा राख्नुभयो । दुध तथा दुग्धजन्य पदार्थका बारेमा विद्यार्थीले वाचन गरेको कविताको उहाँले प्र्रशंसा गर्नुभयो । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले विश्व स्कुल दुध दिवस सुरु गरेदेखि हालसम्म सबैको साथ र सहयोग पाएकामा खुसी व्यक्त गर्नुभयो । आगामी दिनमा अझै व्यवस्थित तरिका र फरक ढङ्गले यो दिवस मनाउने उहाँले बताउनुभयो ।  

सन् २००० देखि विश्वभर एकै पटक प्रत्येक सेप्टेम्बरको अन्तिम बुधबार यो दिवस मनाउँदै आएको हो । विश्वमा यो २३ औँ दिवस हो भने नेपालले विगत नौ वर्षदेखि यो दिवस मनाउँदै आएको छ । 

बुधबार सेप्टेम्बर २७ मा एसोसिएसनको सिन्धुली जिल्लाले विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने कार्यक्रम राखेको छ । 

कविता प्रतियोगितामा दिव्यज्ञान स्कुलका विद्यार्थी एलिसा विक प्रथम, सूर्योदय माविका विद्यार्थी प्रिन्सा कपाडी र सेन्ट जर्ज इन्टरनेसनल विद्यालयका विद्यार्थी सलिना कार्कीले तृतीय स्थान प्राप्त गर्नुभएको छ । उहाँहरूलाई सम्मानपत्र र नगदसहित पुरस्कृत गरेको छ । ‘विश्व स्कुल दिवस’ का अवसरमा गोरखापत्रमा कृषि विषयमा लेख्दै आउनुभएका पत्रकार सुरेशकुमार यादवलाई सम्मान गरिएको छ ।