गजेन्द्र गुरुङ
खजुरा, असोज ११ गते । नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले बुधबारबाट नेपालगन्जमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।
कृषि विकास बैङ्कका प्रमुख प्रबन्धक अनुज बस्नेत र नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले बुधवार नेपालगन्ज शाखाको औपचारिक शुभारम्भ गर्नुभयो ।
नेपाल माइक्रो इन्स्योरेन्सका डेपुटी सीइओलगायत कम्पनीका अन्य प्रमुख प्रतिनिधिको उपस्थितिमा भएको नेपालगन्ज शाखाको उद्घाटनमा प्रमुख कार्यकारी अधिकृत रिमालले नेपाल माइक्रो इन्स्योरेन्सको शाखा विस्तार रणनीतिमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको अगाडि बढेको बताउनुभयो ।
“गुणस्तरीय लघुबीमा सेवाहरू उपलब्ध गराउने कुरामा हामी प्रतिबद्ध छौँ” उहाँले भन्नुभयो, “नयाँ शाखाले स्थानीय समुदायको बिमा आवश्यकताहरू पूरा गर्ने र लघु बिमा उत्पादनहरूको विस्तृत दायरा प्रदान गर्नेछ ।”
प्रमुख कार्यकारी अधिकृत रिमालले नेपालगञ्जका जनताका लागि नवीन र सस्तो बिमा समाधानहरू सिर्जना गर्न कृषि विकास बैङ्कजस्ता वित्तीय संस्थाहरू र नेपाल माइक्रो इन्स्योरेन्सजस्ता लघुबीमा कम्पनीबीचको सहकार्यको सम्भावनालाई पनि कार्यक्रममा प्रकाश पार्नुभयो ।
कृषि विकास बैङ्कका प्रमुख प्रबन्धक अनुज बस्नेतले नेपालगन्जमा नेपाल माइक्रो इन्स्योरेन्सको नयाँ शाखा खोलेकोमा खुसी व्यक्त गर्दै यस क्षेत्रका व्यक्ति तथा व्यवसायलाई आर्थिक सुरक्षा प्रदान गर्न लघुबीमाको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
नेपाल माइक्रो इन्स्योरेन्सका नेपालगन्ज शाखा प्रबन्धक निर्मलकुमार साउदले ग्राहक केन्द्रित सेवाप्रति शाखा प्रतिबद्ध रहेको बताउनुभयो । “नेपाल माइक्रो इन्स्योरेन्सले नेपालगन्जको वित्तीय र बिमा परिदृश्यमा पार्ने सकारात्मक प्रभावका बारेमा विश्वस्त पार्न चाहन्छु” शाखा प्रबन्धक साउदले भन्नुभयो ।