• १२ वैशाख २०८३, शनिबार

पन्ध्र हजार विदेशी पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

blog

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पर्यटकको भिडभाड । तस्बिर : भुवन ओझा

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १२ गते । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा २०८२ को एक वर्षको अवधिमा १४ हजार आठ सय ९९ जना पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । 

उत्तरी गोरखामा बेमौसमी बाढी, पहिरो, हिमपात, भौगोलिक बिकटता र अमेरिका–इरान युद्धको बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना ( एमक्याप ) गोरखाले जनाएको छ । 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाले तयार पारेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा १४ हजार ८९९ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका हुन् ।

जसमध्ये नेपाली पर्यटक ४३२ जना, सार्क राष्ट्रको पर्यटक ४३४ जना र विदेशी पर्यटक १४०३३ जना मनास्लु संरक्षण क्षेत्र भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका सुचना अधिकारी भुवन ओझाले बताउनुभयो । 

मनास्लु संरक्षण क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकलाई प्रति व्यक्ति ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र नेपाली पर्यटकलाई दुई सय रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ ।  

गत वर्ष २०८१ मा ११ हजार ३८४ जना पर्यटक मनास्लु क्षेत्र भ्रमणमा आएका थिए, सुचना अधिकारी ओझाले भन्नुभयो, ‘यो एक वर्षको अवधिमा झण्डै ३५१५ जना पर्यटक वृद्धि भई २०८२ मा १४ हजार ८९९ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गरेका उहाँको भनाइ छ ।

मनास्लु पदमार्गमा बढ्दो आकर्षणको प्रमुख कारण यहाँको मौलिक संस्कृति, अबिकृत हिमाली सौन्दर्य र अन्य लोकप्रिय पदमार्गको तुलनमा कम भिडभाड तथा विदेशी पर्यटकका लागि तिब्बती बस्तीसँगको सांस्कृतिक सामिप्यतामा पनि मुख्य आकर्षण बनेको छ । 

पर्यटकको सङ्ख्यामा भएको वृद्धिले उत्तरी गोरखावासीमा उर्जा थपिएको छ, होटेल व्यवसायी निमा दोर्जेले भन्नुभयो, ‘विश्वको आठौं अग्लो हिमाल मनास्लुको छायाँमा उभिदा पर्यटकले आनन्दित मान्दै मनास्लु संरक्षण क्षेत्रमा रमाउने गरेको उहाँको भनाइ छ ।’

एक वर्षमा झण्डै १५ हजार पर्यटकको आगमनले मनास्लु क्षेत्रलाई यो वर्ष पर्यटनको उज्यालो पहाड बनाई दिएको छ, जहाँ हिमाल मात्र होइन, संस्कृतिको धडकन पनि उत्तिकै चम्किएको छ । 

मनास्लुमा हरेक वर्ष उल्लेखिय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएकाले मनास्लु संरक्षण क्षेत्रमा स्रोत साधनको प्रयोग गरेर पर्यटकहरूको राम्रो व्यवस्थापन गर्ने हो भने केहि वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्त्वय बन्नुका साथै यसले मनास्लु क्षेत्रको पर्यटन सुधार भएको सङ्केत गरेको  सुचना अधिकारी ओझाको भनाइ छ ।